रसुवासहित चार जिल्ला अत्यधिक प्रभावित हुने गरी आएको प्रलयकारी बाढीमा हराएका महोत्तरीका बेपत्ता परिवारहरूले आफन्तको सास देऊ कि लास देऊ भन्दै सरकारसँग गुहार लगाएका छन्। महोत्तरी सदरमुकाम जलेश्वर–१० निवासी रुचि दासका ३८ वर्षीय छोरा सुशीललाल दास र जलेश्वर नगरपालिका–७ महादेवपट्टीनिवासी अब्दुल मजिद अन्सारीका २२ वर्षीय छोरा हसन रेजा अन्सारीसहित १० परिवार अझै आफन्तको पर्खाइमा छन्। उनीहरूले आफ्ना आफन्तको कुनै खबर पाउन सकेका छैनन्।
उनीहरू हराएको ११ दिन बितिसक्दा पनि आफन्तको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको परिवारजनले बताएका छन्। बेपत्ता सुशीललाल दासका दाजु रोशनलाल दासले परिवारले सम्भावित सबै स्थानमा खोजी गरिसकेको र डिएनए नमुनासमेत दिएको बताए। उनले भाइ हराएको रसुवाको टिमुरे बजारमा अझै उद्धार कार्य सुरु भएको आफूले नसुनेको बताए। भाइ फर्केर आउने आशा अझै रहेको भन्दै उनले काजकिरिया गर्न हतार नगरेको बताए।
बेपत्ता सुशीलकी छोरी मुस्कानले बुबाले बुधबार बिहान ९ बजे टिमुरे बजारबाट हिँडेको भन्दै फोन गरेको र त्यसको केही समयपछि बुबासँगको सबै सम्पर्क टुटेको बताइन्। काठमाडौंमा इन्टरको अध्ययन सकेर लोकसेवाको तयारी गरिरहेकी मुस्कानले बुबा अझै फर्केर आउने आशा रहेको बताइन्। उनकी आमा ममता देवी पनि श्रीमान् फर्केर आउनेमा विश्वस्त छिन्। यता, हसनकी आमा मैतुन खातुनको घरमा कोही भेट्न आउँदा उनीहरू आफ्नै नातिको खबर सोध्ने गर्छिन्। हसनका परिवारजन पनि आफन्त फर्केर आउने आशामा दिन बिताइरहेका छन्।
सुशील काठमाडौंस्थित एक टुर्स एन्ड ट्राभल्समा काम गर्ने गरेको परिवारले जनाएको छ। उनकी श्रीमती ममताले श्रीमान्सँगै ६ स्कर्पियोमा रसुवाको टिमुरे गएको बताइएको छ। बाढीपहिरोमा सबै गाडी सम्पर्कविहीन भएपछि परिवार थप चिन्तित बनेको छ। यता, हसन पनि गाडी मर्मत गर्ने मेकानिकका रूपमा कार्यरत रहेको र काठमाडौंमा रहेको गाडी लिन रसुवा गएको परिवारले जनाएको छ। उनी पनि घटनापछि सम्पर्कविहीन छन्। बेपत्ता आफन्तहरूको तत्काल खोजी तथा उद्धारलाई तीव्रता दिन परिवारजनले सरकारसँग आग्रह गरेका छन्।