स्कुटर र मिनी ट्रक ठोक्किँदा चितवनमा एकजनाको मृत्यु

शनिबार, २० भदौ, २०८३
डिजिटल संस्करण

चितवनको रत्ननगर नगरपालिका–९ स्थित टिकौली जंगलमा स्कुटर र मिनी ट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जंगलमा गएराति टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको लु १ ख ४५ नम्बरको मिनी ट्रक र भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना ३७ प ७०९६ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए।

दुर्घटनामा स्कुटरचालक राप्ती नगरपालिका–७ निवासी ३८ वर्षीय राजकुमार दर्जी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।

प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रक र त्यसका चालक रुपन्देहीको गैडहवा गाउँपालिका–७ निवासी ४० वर्षीय रामेश्वर खरविन्द्रलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सुझावित समाचार