बाढीका कारण कृष्णभिरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा ग्यास भरेर काठमाडौं ल्याउन थालिएको छ । आयल निगमका अनुसार तराईका १५ उद्योगमा काठमाडौंमा बजारीकरण गरिरहेका २६ ब्रान्डका सिलिन्डरमा ग्यास भर्न सुरु गरिएको हो । तराईका उद्योगहरूबाट काठमाडौं उपत्यकामा शुक्रबार ३० हजार सिलिन्डर ग्यास भित्रिएको काठमाडौंका लागि ग्यास भर्ने तराईका उद्योगको नियमनमा खटिएका आयल निगमका सहायक प्रबन्धक उपेन्द्र सुवेदीले जानकारी दिए । त्यस्तै, २८ ट्यांकर पेट्रोल, डिजेल तथा हवाई इन्धन भित्रिएको छ । उनका अनुसार बिहीबार २४ हजार पाँच सय सिलिन्डर ग्यास भित्रिएको थियो । ‘हामीले स्थलगत रूपमै चिवतन, बारा, पर्सा, मकवानपुरलगयतका उद्योगको निरीक्षण गरेका छौँ । यहाँ नियमित रूपले ग्यास भर्ने र ट्रकमा हालेर काठमाडौं पठाउने काम भइरहेको छ,’ उनले भने ।
निगमबाट प्राप्त तथ्यांकअनुसार हेटौँडाको सहारा उद्योगमा एभरेस्ट र सुगम ब्रान्डको खाली सिलिन्डरमा ग्यास भर्ने गरिएको छ । तीनवटै उद्योगका सञ्चालक शिवप्रसाद घिमिरे हुन् । त्यसैले, घिमिरेले आफ्नै उद्योगमा सिलिन्डर रिफिलिङ गरी काठमाडौंका लागि दैनिक ५–६ ट्रक ग्यास ढुवानी गरिरहेको निगमले जानकारी दिएको छ ।
सीताश्री ब्रान्डको सिलिन्डरमा भने बारामा रहेको ‘ग्यास वान’ उद्योगमा ग्यास रिफिल भइरहेको छ । हिमाल ब्रान्डमा सिलिन्डर बिक्री गर्दै आएको काभ्रेको गौरीशंकर ग्यासले वीरगन्जमा रहेको सुपर ग्यास उद्योगमा रिफिल गर्दै आएको छ । एचपी ब्रान्डका सिलिन्डरहरू चितवन र धनुषामा रहेको नेपाल ग्यासको उद्योगमा रिफिल भइरहेको निगमले जनाएको छ ।
नेपाल ग्यासले भने चितवन र धनुषामा रहेको आफ्नै प्लान्टमा सिलिन्डर रिफिल गरिरहेको छ । दुवै स्थानमा नेपाल ग्यासको ठुलो क्षमताको प्लान्ट रहेका कारण अन्य ब्रान्डको सिलिन्डरमा समेत रिफिलिङको सुविधा प्रदान गरेको छ ।
साल्ट ट्रेडिङको ‘एसटिसी’का सिलिन्डर सिमरामा रहेको अम्बर ग्यास उद्योगमा रिफिल भइरहेका छन् । सगर ब्रान्डका सिलिन्डर नवलपरासीस्थित चण्डेश्वरी ग्यास उद्योगमा रिफिल भइरहेको निगमले जनाएको छ । सगर र चण्डेश्वरी दुवै ग्यास उद्योगका सञ्चालक सावरमल अग्रवाल हुन् । त्यसैले उनले आफ्नै उद्योगमा ग्यास भरेर काठमाडौं ल्याइरहेका छन् ।
श्रीमाया ब्रान्डको सिलिन्डर पोखरास्थित शक्ति ग्यास र भानु ग्यास उद्योगमा रिफिल भइरहेको छ । श्रीराम ब्रान्डको सिलिन्डर जनकपुरस्थित जानकी र नोबेल उद्योगमा रिफिल भइरहेको निगमले जनाएको छ । तीनवटै उद्योगका सञ्चालक विजयहरि शर्मा भएकाले ग्यास आयात र सिलिन्डरमा सहज भएको छ ।
लोकप्रिय ब्रान्डका सिलिन्डर बाराको लियो ग्यास र पर्साको मनोज ग्यास उद्योगमा रिफिल भइरहेका छन् । सिद्धार्थ ब्रान्डका सिलिन्डर सिमराको अम्बर ग्यास उद्योगमा भर्ने काम भइरहेको छ । श्रीकृष्ण ब्रान्डका सिलिन्डर चितवनको साइबाबा उद्योगमा रिफिल भइरहेका छन् । दुवै उद्योगका सञ्चालक राजेन्द्र डल्लाकोटी हुन् ।
सूर्य र नमस्ते ब्रान्डको सिलिन्डर बाराको जगदम्बा उद्योगमा रिफिल भइरहेको निगमले जानकारी दिएको छ । त्यस्तै, ओम ब्रान्डका सिलिन्डर जनकपुरस्थित जानकी उद्योग र गीता ब्रान्डका सिलिन्डर चितवन तथा धनुषामा रहेको नेपाल ग्यास उद्योगमा रिफिल भइरहेको आयल निगमको तथ्यांक छ ।