- होल्डिङ सेन्टरमा राखिएका पीडितहरूमा एकोहोरो हुने, ननिदाउने, खान नमान्ने, परिवारका मृतक तथा बेपत्ता सदस्यको नाम लिएर बर्बराउने समस्या देखिन थालेको छ
भोटेकोशी–त्रिशूली बाढीमा परिवारदेखि घरबारसम्म गुमाएकाहरू अत्यधिक मानसिक तनाबमा छन् । उनीहरूलाई मनोपरामर्शको आवश्यकता छ । तर, स्थानीयदेखि केन्द्र सरकारसम्मले यसतर्फ अझै ध्यान पुर्याउन सकेका छैनन् ।
होल्डिङ सेन्टरमा राखिएका पीडितहरूमा एकोहोरिने, ननिदाउने, खान नमान्ने, परिवारका मृतक तथा बेपत्ता सदस्यको नाम लिएर बर्बराउने समस्या देखिएका छन् । आफ्नै घरमा बसिरहेका ज्यान गुमाउने र सम्पर्कविहीनहरूका परिवारका सदस्यहरूमा पनि यस्तो समस्या देखिएको छ ।
रसुवा, नुवाकोट, काठमाडौं र धादिङका ३२ स्थानका होल्डिङ सेन्टरमा बाढी प्रभावितलाई राखिएको छ । तर, कुनै पनि होल्डिङ सेन्टरमा सरकारी मनोपरामर्शदाता छैनन् ।
स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालबाट २० जनाको टोली त्रिशूली अस्पतालमा पठाए पनि मनोपरामर्शका लागि छुट्टै टोली खटाएको छैन । मन्त्रालयअन्तर्गतकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट पनि महामारीको अवस्था र मानसिक स्वास्थ्यको अवस्था अध्ययन गर्न केही चिकित्सकको टोली प्रभावित क्षेत्रमा खटाइएको छ, तर परामर्श दिने टोली छैन । त्यस्तै, रसुवाको धुन्चेस्थित स्वास्थ्य शिविरमा २८ र नुवाकोटको देवीघाटस्थित आयुर्वेद चिकित्सालयमा २४ जना चिकित्सकको टोली काठमाडौंबाट पुगेको छ । यी टोलीमा पनि मनोचिकित्सक छैनन् । विभिन्न संघसंस्थाबाट भने केही मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएका छन् ।
‘अहिले होल्डिङ सेन्टरमा राखिएकाहरूमा एकोहोरो हुने, नखाने, कहिले बर्बराउने, कहिले रुने, ननिदाउनेजस्ता समस्या देखिएका छन्,’ त्रिशूलीस्थित एक होल्डिङ सेन्टरमा खटिएका नुवाकोट बट्टारका स्थानीय रमेश बस्नेतले भने, ‘सरकारले उनीहरूका लागि मानसिक स्वास्थ्य तथा परामर्शको प्याकेज ढिला नगरी सञ्चालन गर्नुपर्छ । शारीरिक चोटभन्दा मानसिक चोटको असर झन् भयावह हुन्छ भन्नेतर्फ सरकारले ध्यान दिनुपर्छ ।’ उनका अनुसार बट्टारमा बस्ती रित्तिएका मात्रै छैनन्, बेघर हुने र उठीवास हुनेको संख्या अत्यधिक छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिकामा तीनवटा होल्डिङ सेन्टरमा तीन सय प्रभावितलाई खाने, बस्ने व्यवस्था गरिए पनि मानसिक स्वास्थ्यबारे कुनै परामर्श सुरु नभएको नगर उपप्रमुख शिवप्रसाद दाहालले बताए । ‘बेलकोटगढीका ३, ५ र ८ नम्बर वडामा तीन होल्डिङ सेन्टरमा बाढी प्रभावित ३५० भन्दा बढीलाई राखिएको छ । यहाँ खाना खुवाउने र अन्य चोटपटकका लागि उपचार गर्ने व्यवस्था मिलाइए पनि मानसिक स्वास्थ्यबारे कुनै परामर्श कार्यक्रम सुरु गरिएको छैन । स्थानीय तहसँग जनशक्ति छैन, संघीय सरकारबाट पहल भएको छैन,’ उपप्रमुख दाहालले भने, ‘मानसिक रूपमा धेरै मानिस विक्षिप्त हुनुभएको छ, उहाँहरूका लागि मनोपरामर्श त अत्यावश्यक छ । ढिला गरियो भने धेरैमा मानसिक समस्या भयावह बन्न सक्छ । हामीले पनि सकेका छैनौँ ।’
बाढीपीडितमा दोहोरो तनाब छ । आफन्त मात्रै गुमाएका छैनन्, जायजेथा नै बाढीले निमिट्यान्न पारेको छ । अधिकांश प्रभावित पूर्ण रूपमा रित्तिएका छन् । यो अवस्थामा निम्तिने तनाब अनियन्त्रित हुन्छ । त्यसैले सरकारले अभिभावकत्व निर्वाह गर्दै उनीहरूलाई सम्झाउनुपर्ने मानसिक रोग विशेषज्ञसमेत रहेकी पूर्वस्वास्थ्यमन्त्री डा. सुधा शर्मा बताउँछिन् ।
‘सर्वस्व गुमाएर विक्षिप्त भएकाहरूको मनोबल उकास्ने दायित्व सरकारको हो । यस्तो वेला सरकारले दिने ढाडसले ठुलो अर्थ राख्छ । मानसिक समस्या बढ्न नदिन सरकार गम्भीर भएर लाग्नुपर्छ,’ शर्माले भनिन्, ‘अन्य देशहरूमा यस्ता प्रकोपहरूका वेला प्रभावितहरूको मानसिक स्वास्थ्य जटिल बनेका उदाहरण छन् । त्यसैले बाढी प्रभावितहरूलाई अहिले परामर्श र सान्त्वनाको खाँचो छ ।’
मनोविद् करुणा कुँवरले पनि बाढी प्रभावितहरू मानसिक रूपमा अत्यन्त कमजोर रहेकाले परामर्श आवश्यक रहेको बताइन् । ‘बाढीबाट मुस्किलले बाँचेकाहरूको मानसिक स्वास्थ्य निकै कमजोर हुन्छ । कतिपय त परिवारका सबै सदस्य गुमाएर एकजना मात्रै बाँचेका छन् । उनीहरूलाई आधारभूत आवश्यकतासँगै मनोपरामर्श दिनुपर्छ,’ उनले भनिन्, ‘मान्छेको जीवनमा परिवार, घरबार गुमाउनु भनेको निकै कठिन परिस्थिति हो । त्यसैले उनीहरूलाई गाँस, बास र भावनात्मक सहयोग चाहिएको छ ।’
नेपाली सेना उद्धार र खोजी कार्यमा केन्द्रित छ । उद्धार गरिएकाहरूलाई त्रिशूलीमा ल्याएर नामावली संकलन गर्ने र काठमाडौं जान चाहनेलाई काठमाडौं तथा स्थानीय होल्डिङ सेन्टरमा बस्न चाहनेलाई त्रिशूलीमा राख्ने काम सेनाले नै गरेको छ । सेनाका प्रवक्ता राजाराम बस्नेत पनि उनीहरूलाई मनोपरामर्श सेवा अत्यावश्यक रहेको बताउँछन् । सेनाको तर्फबाट उपचार टोलीले नै मनोपरामर्श पनि दिइरहेको उनले बताए । ‘हाम्रातर्फबाट दुई मेडिकल टिम खटिएको छ, त्रिशूलीमा सर्जन र अर्थोपेडिकसहित २० जनाको टिम र धुन्चेमा अर्थोपेडिकसहित १६ जनाको टिम खटिएको छ । उपचारका क्रममा टोलीले नै घाइतेहरूलाई मनोपरामर्श पनि दिइरहेको छ,’ उनले भने, ‘अहिले प्रभावितहरूमा विचलनको अवस्था छ ।’
प्रभावितहरूमा मानसिक असर परिरहेका वेला स्वास्थ्य मन्त्रालय भने अझै मनोपरामर्शदाता र मनोचिकित्सक खटाउने तयारीमै छ । मन्त्रालयका सचिव डा. विकास देवकोटाले भने, ‘मानसिक स्वास्थ्यमा अब हामीले निकै ध्यान दिनुपर्छ, सोहीअनुसार स्वास्थ्य सेवा विभागमार्फत आवश्यक जनशक्ति प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरमा खटाउँदै छौँ,’ उनले भने, ‘यस्तो अवस्थामा पीडितहरूको मानसिक स्वास्थ्य निकै कमजोर बनेको छ, हामीले यसमा चासो दिएका छौँ ।’
३२ स्थानमा होल्डिङ सेन्टर, कतै छैन ‘काउन्सिलिङ’
बाढी प्रभावितहरूलाई रसुवा, नुवाकोट, काठमाडौं र धादिङका ३२ स्थानका होल्डिङ सेन्टरमा राखिएको छ । तर, ती होल्डिङ सेन्टरमा न परामर्शदाता छन्, न परामर्श कक्ष नै छ । उनीहरूलाई खाने र बस्ने व्यवस्था मात्रै गरिएको छ । कतिपय पीडितहरू मानसिक रूपमा विक्षिप्त भए पनि अन्य चिकित्सक टोलीले समेत परामर्श दिइरहेका छन् । तर, छुट्टै टिम नहुँदा मनोपरामर्श तथा मानसिक स्वास्थ्यका बिरामीको उपचार हुन सकेको छैन ।
पीडितहरूलाई होल्डिङ सेन्टरमा खाने र बस्ने व्यवस्था गरिएको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बताए । उनका अनुसार धादिङका नौ स्थानमा राखिएका होल्डिङ सेन्टरमा ४८ जना छन् । नमुना वागीश्वरी मावि गल्छी, आदर्श मावि गजुरी, सरस्वती आधारभूत विद्यालय गजुरी, छोयली गुम्बा गजुरी, केदारेश्वर साधना केन्द्र गजुरी, वागीश्वरी मावि बेनीघाट रोराङ, चन्द्रोदय मावि बेनीघाट रोराङ, शंखदेव मावि बेनीघाट र नमुना मावि बेनीघाटमा बाढीपीडितलाई राखिएको हो ।
त्यस्तै, नुवाकोटमा १९ होल्डिङ सेन्टरमा दुई हजार ६४० भन्दा बढीलाई राखिएको छ । जसमध्ये विदुरमा पुस्कालय तथा स्वास्थ्यचौकीमा २५० जना, सेफ हाउस किरियापुत्री भवनमा १५८ जना, स्वास्थ्यचौकी विदुरमा ९८ जना, कभर्ड हलमा १३७ जना, आयुर्वेद वैकल्पिक चिकित्सा भवनमा १०३ जना, चन्द्रज्योति माविमा १५९ जना, सुन्दरी क्यौरिनी माविमा ९३ जना, कोलनी कभर्ड हल र भैरुम माविमा ४५० जना, इन्द्रायणी आविमा ६७ जना, रणभुमेश्वरी माविमा ७५ जना, महादेव माविमा २७२ जना, त्रिशूली आविमा १०० जना, सुलक्षणा माविमा १२० जना, तामाङ प्लाजामा १०९ जना, कार्की मनकामना आविमा ८० जना, किस्पाङस्थित कार्की मनकामना आविमा ८० जना, त्रिभुवन माविमा २०० जना, बेलकोटगढीस्थित महादेव क्याम्पसमा २६ जना, शिलादेवी माविमा ६० जना र जनसेवा आविमा ३५ जना गरी दुई हजार ६५३ जनालाई राखिएको हो । बेलकोटगढी नगरपालिका उपप्रमुख शिवप्रसाद दाहालले यहाँका तीनवटै होल्डिङ सेन्टरमा मानसिक स्वास्थ्यबारे कुनै परामर्श सुरु नगरिएको बताए ।
त्यसैगरी, काठमाडौंका दुई स्थान (एल्लो प्यागोडा भवन र श्री ऐल्लो गुम्बा)मा २९६ जनालाई राखिएको छ भने रसुवाको शिवालय आधारभूत विद्यालय र हिमालय क्याम्पसमा १८३ जनालाई राखिएको छ । तर, यी होल्डिङ सेन्टरमा स्वास्थ्य मन्त्रालयले काउन्सिलिङका लागि जनशक्ति खटाएको छैन । प्रहरीका अनुसार होल्डिङ सेन्टरमा सुरक्षासहित खाने, बस्ने र आवश्यक आधारभूत औषधिको व्यवस्था गरिएको भए पनि छुट्टै काउन्सिलिङको व्यवस्था छैन । होल्डिङ सेन्टरहरूमा नेपाल र सशस्त्रसहित नगर प्रहरी पनि खटाइएको छ ।
उपत्यकाकै अस्पतालमा छैनन् बाढी प्रभावितलक्षित परामर्श डेक्स
विक्षिप्त अवस्थामा रहेका बाढीपीडितहरूलाई काठमाडौं उपत्यकाकै अस्पतालमा परामर्श डेस्क राखिएका छैनन् । जबकि यहाँका त्रिवि शिक्षण, ट्रमा सेन्टर, वीर, सिभिल, पाटनलगायत अस्पतालमा कैयौँ प्रभावित आफ्ना बेपत्ता सदस्य खोज्दै रुँदै हिँडेको अवस्था छ । उनीहरूलाई सहयोग गर्न र सम्झाइबुझाइ गर्न कुनै पनि अस्पतालमा हेल्प डेस्क छैन ।
काठमाडौं महानगरपालिकाले मनोपरामर्शको तयारी गर्दै
महानगरपालिकाले भने बाढीबाट प्रभावित समुदायलाई लक्षित गरी मनोपरामर्श सेवा सुरु गर्न लागेको छ । महानगरले राष्ट्रिय सभागृहमा उक्त तयारी गर्न लागेको हो । महानगरका स्वास्थ्य विभाग प्रमख दीपक केसीले सभागृहमा दुईवटा कक्ष राखेर मनोपरामर्शको तयारी गरिएको बताए । ‘हामी मनोपरामर्श सेवा सुरु गर्छौँ, विभिन्न स्थानमा रहनुभएका बाढीबाट पीडित तथा आफन्त र घरबारविहीन भएकाहरूलाई अहिले मानसिक रूपमा ढाडस दिनुपर्छ, सोहीअनुसार हामीले मनोपरामर्शको कार्यक्रम अधघि सारेका छौँ,’ उनले भने, ‘बरु उहाँहरूलाई होल्डिङ सैन्टरमा आउन–जानका लागि महानगरले गाडी सेवा उपलब्ध गराउँछ ।’ ध