काठमाडौंका लागि तराईमा कसरी भरिँदै छ ग्यास ?

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा ग्यास भरेर काठमाडौं ल्याउन थालिएको छ। नेपाल आयल निगमका अनुसार तराईका १५ उद्योगमा काठमाडौंमा बजारीकरण गरिरहेका करिब २६ ब्रान्डका सिलिन्डरमा ग्यास भर्ने गरिएको छ।

निगमबाट प्राप्त तथ्यांकअनुसार एभरेस्ट र सुगम ब्रान्डको खाली सिलिन्डरमा हेटौँडाको साहारा उद्योगमा ग्यास भरिरहेका छन्। तीनवटै उद्योगका सञ्चालक शिवप्रसाद घिमिरे हुन्। त्यसैले, घिमिरेले आफ्नै उद्योगमा सिलिन्डर रिफिलिङ गरी काठमाडौंका लागि दैनिक ५–६ ट्रक ग्यास ल्याइरहेको निगमले जानकारी दिएको छ।

सीताश्री ब्रान्डको सिलिन्डरमा भने बारामा रहेको ‘ग्यास वान’ उद्योगमा ग्यास रिफिल भइरहेको छ। हिमाल ब्रान्डक सिलिन्डर बिक्री गर्दै आएको काभ्रेको गौरीशंकर ग्यासले वीरगन्जमा रहेको सुपर ग्यास उद्योगमा रिफिल गर्दै आएको छ। एचपी ब्रान्डका सिलिन्डरहरू चितवन र धनुषामा रहेको नेपाल ग्यासको उद्योगमा रिफिल भइरहेको निगमले जनाएको छ।

नेपाल ग्यासले भने चितवन र धुनषामा रहेको आफ्नै प्लान्टमा सिलिन्डर रिफिल गरिरहेको छ। दुवै स्थानमा नेपाल ग्यासको ठुलो क्षमताको प्लान्ट रहेका कारण अन्य ब्रान्डको सिलिन्डरमा समेत रिफिलिङको सुविधा प्रदान गरेको छ।

साल्ट ट्रेडिङको ‘एटिसी’का सिलिन्डर सिमरामा रहेको अम्बर ग्यास उद्योगमा रिफिल भइरहेका छन्। सगर ब्रान्डका सिलिन्डर नवलपरासीस्थित चण्डेश्वरी ग्यास उद्योगमा रिफिल भइरहेको निगमले जनाएको छ। सगर र चण्डेश्वरी दुवै ग्यास उद्योगको सञ्चालक सावरमल अग्रवाल हुन्। त्यसैले, उनले आफ्नै उद्योगमा ग्यास भरेर काठमाडौं ल्याइरहेका छन्।

श्रीमाया ब्रान्डका सिलिन्डर पोखरास्थित शक्ति ग्यास र भानु ग्यास उद्योगमा रिफिल भइरहेका छन्। श्रीराम ब्रान्डका सिलिन्डर जनकपुरस्थित जानकी र नोबेल उद्योगमा रिफिल भइरहेको निगमले जनाएको छ। तीनवटै उद्योगको सञ्चालक विजयहरि शर्मा भएकाले ग्यास आयात र सिलिन्डरमा सहज भएको छ।

लोकप्रिय ब्रान्डका सिलिन्डर बाराको लियो ग्यास र पर्साको मनोज ग्यास उद्योगमा रिफिल भइरहेका छन्। सिद्धार्थ ब्रान्डका सिलिन्डर सिमराको अम्बर ग्यास उद्योगमा भर्ने काम भइरहेको छ। श्रीकृष्ण ब्रान्डका सिलिन्डर चितवनको साइबाबा उद्योगमा रिफिल भइरहेका छन्। दुवै उद्योगका सञ्चालक राजेन्द्र डल्लाकोटी हुन्।

सूर्य र नमस्ते ब्रान्डका सिलिन्डर बाराको जगदम्बा उद्योगमा रिफिल भइरहेको निगमले जानकारी दिएको छ। त्यस्तै, ओम ब्रान्डका सिलिन्डर जनकपुरस्थित जानकी उद्योग र गीता ब्रान्डका सिलिन्डर चितवन तथा धनुषामा रहेको नेपाल ग्यास उद्योगमा रिफिल भइरहेको आयल निगमको तथ्यांक छ।

तराईका उद्योगले अन्य ब्रान्डका सिलिन्डरमा निःशुल्क ग्यास भरिरहेका उद्योगी शिवप्रसाद घिमिरेले जानकारी दिए। ‘विपतका वेला लागत घटाउन मद्दत मिलोस् भनेर तराईका सबै उद्योगले काठमाडौंबाट गएका खाली सिलिन्डरमा कुनै पैसा नलिई ग्यास भरिरहेका छन्,’ उनले भने।

सबै उद्योग २४ सै घण्टा चलाइरहेको पनि उनले बताए। ‘तराईका उद्योगले आफ्नै ब्रान्डका सिलिन्डरमा पनि ग्यास भर्नुपर्याे। त्यसपछि, काठमाडौंबाट लगिएका अन्य ब्रान्डका खाली सिलिन्डरमा पनि ग्यास भर्नुपर्ने भएकाले २४ सै घण्टा चलाइरहेका छौँ,’ ग्यास उद्योग संघका निवर्तमान अध्यक्षसमेत रहेका घिमिरेले भने।

काठमाडौंका लागि ग्यास भर्ने तराईका उद्योगको नियमनमा खटिएका आयल निगमका सहायक प्रबन्धक उपेन्द्र सुवेदीले पनि नियमित रूपमा खाली सिलिन्डर रिफिल गर्ने काम भइरहेको जानकारी दिए। ‘हामीले स्थलगत रूपमै चितवन, बारा, पर्सा, मकवानपुरलगयतका उद्योगको निरीक्षण गरेका छौँ। यहाँ नियमित रूपले ग्यास भर्ने र ट्रकमा हालेर काठमाडौं पठाउने काम भइरहेको छ,’ उनले भने।

सुझावित समाचार