भोटेकोशी बाढीपीडितका लागि बर्दियाबाट १४ लाख ६३ हजार सहयोग

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बर्दियाका सामाजिक संघसंस्था, धार्मिक संगठन तथा व्यवसायीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १४ लाख ६३ हजार ४७७ रुपैयाँ सहयोग गरेका छन्।

जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिकाले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। त्यसैगरी मोहम्मदपुरका मस्जिदहरू तथा मुस्लिम समाजले दुई लाख दुई हजार ७८६ रुपैयाँ र इसाई समाज बर्दियाले चार लाख २० हजार ५८० रुपैयाँ कोषमा जम्मा गरेका छन्।

उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेका अनुसार वाणिज्य संघ, होटेल अर्गनाइजेसन बर्दिया र महिला उद्यमी संघ बर्दियाले संयुक्त रूपमा राहत संकलन गरी एक लाख ६० हजार रुपैयाँ कोषमा जम्मा गरेका छन्।

यस्तै, बायोस्यान्ड फिल्टर उद्यमी संगठन नेपालले ५१ हजार रुपैयाँ सहयोग गरेको छ। गुलरिया नगरपालिकामा रहेको कल्पतरु कृष्णसार कृषि सहकारी संस्थाले ११ हजार १११ रुपैयाँ सहयोग गरेको संस्थाका कोषाध्यक्ष लोकप्रसाद भुसालले जानकारी दिए।

गुलरिया नगरपालिका– ११ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयले २७ हजार २२५ रुपैयाँ सहयोग गरेको छ। गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर रावतले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६६ हजार रुपैयाँ जम्मा गरेको जानकारी दिए।

त्यसैगरी, राजापुर नगरपालिका– २ स्थित बालाबजार व्यवस्थापन समितिले २२ हजार २७५ रुपैयाँ र गेरुवा गाउँपालिका– ३ शान्तिबजारस्थित भौँरा टप्पा अटो यातायात प्रालिले दुई हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ।

रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रम बढ्दो छ। विपतकाे समयमा पीडित नागरिकको सहयोगका लागि बर्दियाका विभिन्न समुदाय, सामाजिक संस्था, धार्मिक संगठन तथा व्यवसायी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।

सुझावित समाचार