रसुवाको भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजार ९१२ प्रहरी परिचालित

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि नेपाल प्रहरीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। ०८३ साल भदौ १९ गते दिउँसो २ बजेसम्मको अद्यावधिक विवरणअनुसार घटनास्थल तथा प्रभावित क्षेत्रमा सात हजार नाै सय १२ जना प्रहरी परिचालन गरिएको छ।

नेपाल प्रहरीका अनुसार बाढीबाट ६५ जना प्रहरी प्रभावित भएका छन् भने २५ जना सम्पर्कविहीन रहेका छन्। उद्धार तथा खोजी कार्यसँगै नागरिकलाई सचेत गराउन १०६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रममा ४१ हजार ७२६ जना सहभागी भएका छन्।

उद्धारका क्रममा ठुलो संख्यामा मानिसको खोजी तथा शव व्यवस्थापनसमेत भइरहेको प्रहरीले जनाएको छ। उपलब्ध विवरणअनुसार एक हजार २९५ वटा आंशिक अंग फेला परेको उल्लेख छ। शव व्यवस्थापनतर्फ एक  हजार ३० वटा व्यवस्थापन गरिएको छ।

घाइते तथा उद्धार गरिएका व्यक्तिको संख्या आठ हजार ४७६ पुगेको छ। यस्तै, तीन हजार ६५५ जना होल्डिङ सेन्टरमा रहेका छन्।

बाढी प्रभावित तथा मृतकको पहिचानका लागि एक हजार २६० मृतकको डिएनए नमुना संकलन गरिएको छ। मृतकका आफन्तबाट ८४६ नमुना संकलन भएको र मृतक तथा आफन्ततर्फको डिएनए संकलन संख्या दुई हजार १०६ पुगेको विवरणमा उल्लेख छ।

प्रहरीले घटनासँग सम्बन्धित विवरण संकलन, बेपत्ताको खोजी, उद्धार, शव पहिचान तथा व्यवस्थापनको कामलाई निरन्तरता दिइरहेको जनाएको छ।

सुझावित समाचार