शिवराज नगरपालिका– २, बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो।
अटोको ठक्करबाट टाउको र अनुहारमा गम्भीर चोट लागेका बालकलाई तत्काल चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो।
बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन्। घटनापछि प्रहरीले अटो र चालक ३४ वर्षीया रूपा विकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।