देशका विभिन्न स्थानमा आएको बाढी तथा प्राकृतिक विपतबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि चितवन को–ई ग्रुपले एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। राष्ट्रिय विपत् व्यवस्थापन, खोज तथा उद्धार एवं राहत अभियानमा सहयोग पुर्याउने उद्देश्यले ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो।
सहयोग रकममध्ये ग्रुपअन्तर्गतको मनकामना दर्शन प्रालिले एक करोड २५ लाख तथा चितवन मिल्क लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
चितवन, गोरखा तथा आसपासका क्षेत्रसँग ग्रुपको लामो समयदेखिको सामाजिक तथा व्यावसायिक सम्बन्ध रहेको जनाउँदै विपतकाे समयमा प्रभावित नागरिकको साथमा उभिन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको ग्रुपले जनाएको छ।
ग्रुपका दिवंगत संस्थापक लक्ष्मणबाबु श्रेष्ठले व्यवसायको सफलता समुदायको सहयोग, विश्वास र सम्बन्धसँग जोडिएको हुने भएकाले कठिन परिस्थितिमा समुदायप्रति जिम्मेवार बन्नुपर्ने मान्यता राख्दै आएका थिए। उनले स्थापित गरेकाे सामाजिक उत्तरदायित्वको भावनालाई निरन्तरता दिँदै विपतकाे समयमा सहयोग गरिएको ग्रुपको भनाइ छ।
ग्रुपका अनुसार सहयोगले विपतबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्य अघि बढाउन तथा प्रभावित समुदायलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने विश्वास लिइएको छ।
विपतकाे कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै ग्रुपले राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान र आभार व्यक्त गरेको छ।
ग्रुपले विपतकाे समयमा एक–अर्काको साथ र सहयोग नै समाजको शक्ति भएको उल्लेख गर्दै एकताबद्ध प्रयासबाट प्रभावित समुदायको पुनर्स्थापना र पुनर्निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउन सकिने विश्वास व्यक्त गरेको छ।