रसुवास्थित विभिन्न हाइड्रोपावर, भवन निर्माण, विद्यालय र फर्निचरमा कार्यरत सिराहाका ११ जना भोटेकोशीमा आएको विनाशकारी बाढीसँगै बेपत्ता भएका छन्। बाढी आएको नवाैँ दिनसम्म पनि उनीहरूको अवस्था पत्ता नलागेपछि परिवारजन चिन्तामा छन्।
फेवा कन्स्ट्रक्सनअन्तर्गत त्रिशूली–३ ‘डी’ आयोजनामा स्टोरकिपरका रूपमा कार्यरत सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– १, भौर गाउँका सलदेव यादव (मुन्ना) बाढीपछि सम्पर्कविहीन छन्। घरको आर्थिक जिम्मेवारी सम्हाल्दै आएका सलदेवको अवस्था पत्ता लगाउन उनका सहोदर दाजु कुलदेव यादव चितवनदेखि नवलपरासी र गैँडाकोटसम्म पुगे। अस्पतालदेखि नारायणी नदीकिनारसम्म खोज्दा पनि भाइको अवस्था पत्ता नलागेपछि उनी निराश भएर घर फर्किएका छन्।
‘चितवन र नवलपरासी दुवैतर्फको नारायणी नदीकिनार तथा अस्पतालका भित्तामा टाँसिएका व्यक्तिका फोटोमा आँखा दौडाएँ। तटीय क्षेत्रका सम्भावित स्थानमा तीन दिनसम्म भौँतारिएँ,’ मलिन स्वरमा कुलदेवले भने, ‘भाइलाई फेला पार्न नसकेपछि निराश भएर घर फर्किएको छु। के गर्ने, कसो गर्ने मेसो नै पाउन सकिरहेको छैन।’
सलदेवकी श्रीमती रिन्का यादव पनि श्रीमानकाे अवस्था अज्ञात भएपछि वेला–वेला बेहाेस हुने गरेको उनले बताए। ‘घरमा बुहारी वेला–वेला बेहाेस भइरहेकी छिन्,’ उनले भक्कानिँदै भने, ‘भाइकी आठ वर्षीया छोरी अनुस्का र पाँच वर्षीय छोरा आशिक अझै आफ्ना बाबु कहिले फर्किन्छन् भन्दै बाटो हेरिरहेका छन्।’
लहान नगरपालिका– १५, वीरनगर टोलका सिभिल इन्जिनियर मुकेशकुमार चौधरीको परिवारको अवस्था पनि उस्तै छ। पछिल्लो करिब दुई महिनादेखि रसुवा नाकानजिकै निर्माणाधीन आन्तरिक राजस्व कार्यालयको भवनमा इन्जिनियरका रूपमा कार्यरत चौधरी १० भदौको बाढीपछि सम्पर्कविहीन भएका हुन्। उनको अवस्था पत्ता नलागेपछि परिवार चिन्तामा रहेको भाइ विक्रम चौधरीले बताए।
सिराहाबाट महिला र नाबालकसहित १२ जना सम्पर्कविहीन
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार रसुवाको भोटेकोशी बाढीमा सिराहाका विभिन्न स्थानीय तहका एक महिला र एक नाबालकसहित १२ जना सम्पर्कविहीन छन्।
प्रदेश प्रहरीका अनुसार अपर त्रिशूली हाइड्रोपावर– ३ ‘बी’ मा कार्यरत मिर्चैया नगरपालिका– १० का ४० वर्षीय श्यामसुन्दर साह र शेर्पा हाइड्रोपावरमा कार्यरत गोलबजार नगरपालिका– ७ का ३० वर्षीय राजाकुमार यादव सम्पर्कविहीन छन्।
त्यस्तै, लाङटाङ खोला हाइड्रोपावरमा कार्यरत धनगढीमाई नगरपालिका– ६, मोथियाहीका २९ वर्षीय आनन्दकुमार महतो, नुवाकोटको वेत्रावतीस्थित उत्तरगया पब्लिक स्कुलमा कार्यरत मिर्चैया नगरपालिका– ५ का ६० वर्षीय वैद्यनाथ साह र उनका आफन्त १५ वर्षीय आयुष साह पनि सम्पर्कविहीन छन्।
लहान नगरपालिका– ११ का २८ वर्षीय विवेकनारायण चौधरी, जो रसुवाको मैलुङमा नेपाली सेनामा कार्यरत थिए, उनको पनि बाढीपछि अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, रसुवास्थित अपर त्रिशूली हाइड्रोपावरमा सर्भे इन्जिनियरका रूपमा कार्यरत कल्याणपुर नगरपालिका–१ १ का २९ वर्षीय रोशनकुमार साह, धनगढीमाई नगरपालिका– १४ की २४ वर्षीया मनिका विक र पाँच वर्षीया रियाज विक पनि बाढीपछि बेपत्ता रहेको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरीका अनुसार रसुवा र नुवाकोटका विभिन्न हाइड्रोपावर, सेना, प्रहरी, ट्रकचालक, क्रेन अपरेटर, सडक विभाग, ग्यारेज, सिरक–डस्ना बनाउने काम, मिठाई पसल, कवाडी संकलन, फर्निचर उद्योग, विद्यार्थी तथा तीर्थयात्री गरी १८० जना अझै बेपत्ता छन्।
मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मधेश प्रदेशका विभिन्न जिल्लाबाट पर्साका ४३, बाराका २५, रौतहटका १४, सर्लाहीका २१, महोत्तरीका १०, धनुषाका सात, सिराहाका १२ र सप्तरीका ४८ जना बाढीपछि सम्पर्कविहीन छन्।
बाढीपछि खोजतलास तथा उद्धारका क्रममा मधेश प्रदेशका ३८ जना सम्पर्कमा आएका छन्। बारा र सप्तरीका एक–एकजना गरी दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवा र नुवाकोटका विभिन्न स्थानमा कार्यरत मधेश प्रदेशका १० जना प्रहरी सम्पर्कविहीन भएकामध्ये आठजना सम्पर्कमा आएका छन्। त्यस्तै, पाँचजना नेपाली सेनाका व्यक्तिमध्ये एकजना सम्पर्कमा आएको प्रहरीले जनाएको छ।