अनेरास्ववियुद्वारा रसुवाका बाढीपीडित परिवारलाई राहत वितरण

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

अनेरास्ववियुले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको मानवीय सहायता अभियानलाई निरन्तरता दिएको छ। अभियानअन्तर्गत रसुवाका विभिन्न प्रभावित क्षेत्रमा पुगेर बाढीपीडित परिवारलाई राहत सामग्री वितरण तथा स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले रसुवाको नौकुण्ड गाउँपालिका– ४ मा वडाध्यक्ष नोकेन्द्र तामाङको प्रत्यक्ष रोहवरमा २६ जना बाढीपीडित परिवारलाई घरदैलोमै पुगेर राहत सामग्री वितरण गरेको हो।

त्यसैगरी, बाढीबाट अत्यन्त प्रभावित उत्तरगया गाउँपालिका–वेत्रावती क्षेत्रमा गाउँपालिका प्रमुख माधव अर्याल तथा वडा नं. ५ का वडाध्यक्ष यमनाथ आचार्यलाई खाद्यान्न, औषधि, लत्ताकपडा, सोलार, बत्ती, टर्चलाइट, भाँडाकुँडा तथा सरसफाइका आवश्यक सामग्री हस्तान्तरण गरिएको अनेरास्ववियुले जनाएको छ।

अभियानका क्रममा विपत्तिमा परेका नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउँदै उनीहरूको पीडामा साथ दिने प्रयास गरिएको अनेरास्ववियुले जनाएको छ।

अनेरास्ववियुका उपाध्यक्ष अशोक थापाका अनुसार, अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा सञ्चालन भइरहेको मानवीय सहायता अभियान केवल राहत वितरणमा सीमित नभई विपत्तिमा परेका नागरिकप्रतिको ऐक्यबद्धता, जिम्मेवारी र मानवीयताको प्रतिबद्धता हो।

थापाले विपत्तिमा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। उनले अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गर्दै अनेरास्ववियुले आफ्नो क्षमताअनुसार निरन्तर सेवा र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

सुझावित समाचार