सिराहा प्रहरीले स्रोत नखुलेको तेह्र लाख रुपैयाँभन्दा बढी रकमसहित सिराहा जिल्ला सदरमुकामबाट एकजनालाई पक्राउ गरिएको जनाएको छ । विशेष सूचनाको आधारमा सिराहा नगरपालिका– ७, हेमनारायण चोकनजिकबाट प्रहरीले बिहीबार साँझ १३ लाख ९२ हजार चार सय रुपैयाँसहित सिराहा– २ का करिब ३५ वर्षीय जितेन्द्र महासेठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार महासेठले बोकेको झोला खानतलासी गर्दा एक हजार रुपैयाँ दरका एक हजार ९२ वटा, पाँच सय रुपैयाँ दरका ५९९ र एक सय रुपैयाँ र ५० रुपैयाँ दरका ६–६ गरी १३ लाख ९२ हजार चार सय रुपैयाँ बरामद भएको छ ।
स्रोत नखुलेको रकम बरामद भएपछि उनलाई रकमसहित जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त रकमको विषयमा पक्राउ गरिएका व्यक्तिले कुनै प्रमाण वा कागजपत्र पेस गर्न नसकेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार उक्त रकम हुनडी कारोबारको हुन सक्ने अनुमान गरिएको छ ।