बाढीपछि एकै वडाका २७ जना सम्पर्कविहीन, आफन्त फर्कने आसमा परिवार

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

टीकापुर नगरपालिका– १, समितिपुरकी तुलसी चौधरीको आठ दिनदेखि भोकनिद्रा हराएको छ। १० भदौको बिहान भोटेकोशी नदीमा आएको बाढीपछि उनका श्रीमान् अन्तराम चौधरी सम्पर्कविहीन छन् । अघिल्लो दिन राति उनले फोनमा श्रीमानसँग कुरा गरेकी थिइन् ।

‘चिन्ता नलिनु, तलब बुझेर दसैँमा घर आउँछु भन्नुभएको थियो । त्यसपछि केही अत्तोपत्तो छैन,’ तुलसीले भनिन्, ‘श्रीमान् बेपत्ता भएदेखि भोकनिद्रा हराएको छ । परिवार पीडामा छौँ ।’ रसुवाको अपर त्रिशूली– १, जलविद्युत आयोजनामा मजदुरी गर्ने ४१ वर्षीय अन्तराम गत वैशाखमा त्यहाँ गएका थिए । परिवारका अनुसार बाढी आएका वेला उनी अरू कामदारसँगै जलविद्युत्र आयोजनाको ‘टनेल’मा काम गरिरहेका बुझिएको छ । 

सँगै काम गर्ने अन्तरामका भतिजा दीपक पनि बाढीपछि सम्पर्कविहीन छन् । छोराको खोजीका लागि उनका बुबा विश्राम पाँच दिनदेखि प्रभावित क्षेत्रमा छन् । तर, छोराको कुनै खबर पाउन सकेका छैनन् । २६ वर्षीय दीपक मजदुरी गर्न गाउँकै अन्य युवासँग गत फागुनमा रसुवा पुगेका थिए । ‘भाइ बेपत्ता भएपछि चिन्ताले आमाले खाना खान सक्नुभएको छैन,’ दिदी फूलकुमारीले भनिन्, ‘उद्धार टोली अहिलेसम्म टनेलमा जानै सकेको छैन रे । अहिलेसम्म उद्धार हुन सकेन, भाइको अवस्था के–कस्तो पो छ ।’ 

समितिपुरकै लहानी चौधरी श्रीमान् बेपत्ता भएपछि बेचैन छिन् । बाढी आएको दुई घण्टाअघि फोनमा श्रीमानसँग कुरा गरेकी उनले त्यसपछि श्रीमानको आवाज सुनेकी छैनन् । न उनलाई आफ्ना श्रीमानको अवस्था थाहा छ । उनले अझै आशा मारेकी छैनन् । टनेलभित्र उद्धारमा भइरहेको ढिलाइको खबरले भने उनलाई चिन्ता थपेको छ । लहानीका श्रीमान् ३५ वर्षीय मानबहादुर गत असारदेखि जलविद्युत्र आयोजनामा काम गर्थे । 

भोटेकोशीको बाढीपछि प्रभावित क्षेत्रमा कार्यरत टीकापुर नगरपालिका– १ का मात्रै २७ जना सम्पर्कविहीन छन्। त्यसमध्ये समितिपुर गाउँका मात्रै आठजना र मुक्त कमैया बस्तीका ६ जना रहेका वडा कार्यालयले जनाएको छ । २७ जना बेपत्ता हुँदा वडा नै शोकमा रहेको वडाध्यक्ष मोहन विकले बताए । ‘त्यत्तिका मान्छे बेपत्ता हुँदा वडा नै शोकमा छ । परिवारहरू पीडामा छन्,’ उनले भने, ‘यत्तिका दिनसम्म उद्धार हुन नसक्दा आशा मर्दै गएको छ ।’

वडाले सम्बन्धित परिवारबाट बेपत्ताको विवरण संकलन गरेर नगरपालिकामार्फत अनलाइन विवरण भरेको उनले बताए । वडाध्यक्ष विकका अनुसार बेपत्ता सबै एउटै आयोजनामा काम गर्नेहरू हुन् । बेपत्ताका परिवारले पैसा उठाएर टीकापुर– १ बाट खोजीका लागि ६ जनालाई प्रभावित क्षेत्रमा पठाएका छन् । बाढी प्रभावित क्षेत्रमा रहेका टीकापुरका मात्र ३३ जना बेपत्ता रहेको विवरण नगरपालिकामा आएको वडाध्यक्ष विकले जानकारी दिए । 

आफन्तको खबरको पीडादायी पर्खाइमा रहेका परिवारले इलाका प्रशासन कार्यालय टीकापुरअघि बिहीबार नाराबाजी र घेराउ गरेका छन् । बेपत्ताको सास या लास दिन उनीहरूले सरकारसँग माग गरेका छन् । जलविद्युत् आयोजनाको सुरुङभित्र आठ दिनसम्म उद्धार हुन नसकेको भन्दै पीडित परिवार आक्रोशित बनेका हुन् ।

सँगै काम गर्नेहरूका अनुसार बेपत्तामध्ये अधिकांश बाढी आएका वेला टनेलभित्र काम गरिरहेका थिए । अपर त्रिशूली–१ मै कार्यरत समितिपुरका तुलाराम चौधरीले भागेर ज्यान जोगाए । स्यापुरबाट बाढी आएको खबर पाएकाले आफू भाग्न पाएको उनले बताए । ‘म, गाउँका अरू दुईजना भान्सेसहित ६ जना क्यान्टिनमा थियौँ । बाढी आएको खबर आएको केहीबेरमै बाढी आइपुग्यो । ५–७ सेकेन्डले हामी जोगियौँ,’ चौधरीले भने, ‘टनेलभित्र खबर नै गर्न पाएनौँ ।’

तुलारामले नै टीकापुरबाट अरू कामदार त्यहाँ लगेका थिए । उनले कम्पनीमा कामदार व्यवस्थापनको काम गर्थे । बेपत्ता हुनेमध्ये धेरैजसो आफ्नै आफन्त रहेको चौधरीले बताए । बेपत्ता आफन्तको खोजीमा टीकापुरबाट गएको टोलीसँगै रहेका उनले उद्धार टोली टनेलभित्र जान नसकेको बताए । ‘हामी नुवाकोटमा छौँ, रसुवा पुग्न सकेका छैनौँ, बेपत्ता कसैको पनि खबर पाइएको छैन,’ समितिपुरकै अखिल चौधरीले भने, ‘टनेलभित्रको उद्धारमा निकै ढिलो भयो, अझै पनि छिटो गरिदिए आफन्तको लास या सास पाइन्थ्यो ।’ उनी बेपत्ता रहेका मानबहादुरका भाइ हुन् ।

बाढीपछि सम्पर्कविहीन छन् सुदूरपश्चिका १४६ जना
भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका ज्ञ४६ जना अझै सम्पर्कविहीन छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार १८४ जना सम्पर्कविहीन रहेको भनेर सम्बन्धित परिवारले यहाँका विभिन्न जिल्लास्थित प्रहरी कार्यालयलमा सूचित गराएका थिए ।  सम्पर्कविहीन १८४ मध्ये हालसम्म ३८ जना सम्पर्कमा आएका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्टले जानकारी दिएका छन् । 

सबैभन्दा बढी कैलालीका ८५ जना बेपत्ता रहेकोमा २५ जना सम्पर्कमा आएका छन् । कैलालीका ६० जना अझै बेपत्ता रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुरका बेपत्ता ४६ जनामध्ये १० जना सम्पर्कमा आएका छन् भने ३६ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । प्रदेश प्रहरी कार्यालयका अनुसार बाजुराका १८ र डडेलधुराका १६, बैतडीका आठ, दार्चुलाका चार तथा डोटी, अछाम र बझाङका दुई–दुईजना सम्पर्कविहीन छन् । त्यसमध्ये बाजुराका दुई र डडेलधुराका एकजना सम्पर्कमा आएका विष्टले जानकारी दिए ।

प्रहरीका अनुसार बेपत्तामध्ये प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा काम गर्ने कामदारको संख्या धेरै छ । उनीहरूका आफन्त खोजबिनका लागि प्रदेश सरकार र प्रहरी कार्यालयहरूलाई गुहारिरहेका छन् । आफन्त बेपत्ता भएका कतिपय परिवार यहाँ सम्पर्कमा नआएकाले बाढी प्रभावित क्षेत्रमा बेपत्ता सुदूरपश्चिमका नागरिकको संख्या धेरै हुन सक्ने प्रहरीको अनुमान छ । बेपत्ता व्यक्तिहरूको खोजबिनका लागि नेपाल प्रहरीको केन्द्रीय डेस्कमार्फत खोज समन्वय भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक विष्टले बताए ।

See More On

सुझावित समाचार