तराईका विभिन्न उद्योगमा ग्यास भरेर २४ हजार ५ सय सिलिन्डर काठमाडौंका लागि निस्किएका छन्। ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार बिहीबार साँझ ५ बजेसम्म ग्यास बोकेका ६७ वटा साना–ठुला ट्रक हेटौँडाबाट काठमाडौंतर्फ प्रस्थान गरेका हुन्।
‘बिहीबार साँझ ५ बजेसम्म ६७ ट्रकमा विभिन्न ब्रान्डका ग्यास काठमाडौंतर्फ हेटौँडाबाट निस्केका छन्,’ उनले भने, ‘शुक्रबार बिहानसम्म ट्रक काठमाडौं आइपुग्छन्। त्यसपछि, शुक्रबार दिउँसो नै विभिन्न डिलरमा ग्यास पठाइनेछ।’ उनका अनुसार खाली सिलिन्डरको अभाव रहेका कारण बिहीबार थप ट्रकमा ग्यास पठाउन नसकिएको हो।
‘सबै खाली सिलिन्डर काठमाडौंमा छन्। ग्यास चाहिँ तराईका उद्योगमा थुप्रिएका छन्,’ उनले भने, ‘बिहीबार साँझ काठमाडौंबाट ठुलो संख्यामा खाली सिलिन्डर तराई पठाइएको छ। त्यसैले भोलिबाट भने दैनिक १ सय ट्रकले काठमाडौंमा ग्यास ओसार्नेछन्।’