सशस्त्र प्रहरी बलले राष्ट्रसेवकहरुको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रकम योगदान गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको छ ।
निर्णयअनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरुले १० दिनको, जुनियर अधिकृतहरूले ७ दिनको, वरिष्ठ हवलदार देखि जवान सम्मले ५ दिनको र सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्ने। बि.ओ.पि. टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीहरूको हकमा रकम कट्टा नहुने भएको छ ।
मृतक सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रीत परिवारलाई राष्ट्रसेवकहरुको तर्फबाट तत्काल १५ लाख र सशस्त्र प्रहरी कर्मचारीहरुको मृत्यु भएमा निजको हकवाला÷आश्रीत परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि, २०७९ बमोजिम ५ लाख तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष संचालन सम्बन्धी मापदण्ड, २०८१ बमोजिम . ५ लाख समेत गरी कूल २५ लाख रकम तत्काल उपलब्ध गराउने भएको छ ।
मृतक कर्मचारीहरुले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र सन्ततिहरुलाई पायक पर्ने नेपाल ए.पी.एफ. स्कुलमा कक्षा १० सम्मको अध्ययनको लागि शैक्षिक शुल्क छुट गर्ने, सशस्त्र प्रहरी कर्मचारीका आश्रीत परिवारका सदस्य सोही बाढीका कारण मृत्यु भएमा राहत स्वरुप प्र १ लाख तत्काल उपलब्ध गराउने निर्णय पनि भएको छ ।
सोही बाढीको कारणबाट मृत्यू भएका सशस्त्र प्रहरी कर्मचारीहरुको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णय भएको सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीले बताए।
मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रीत परिवारका १÷१ जना सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गर्ने र सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई राहत स्वरुप जनही . ५० हजारका दरले तत्काल उपलब्ध गराउने भएको छ । बाढी प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख¸ घरवार विहिन भएमा १ लाख र आंशिक रुपमा भौतिक संरचनाको क्षति भएको तथा घाइतेलाई . ५० हजार सम्म तत्काल उपलब्ध गराउने निर्णय बैठकले गरेको छ।