आफन्त जोगाइदिन बेपत्ता परिवारको गुहार, श्रीमती भन्छिन्– मेरो श्रीमान् टनेलभित्रै छन्

बिहिबार, १८ भदौ, २०८३
डिजिटल संस्करण

भदौ १० गते रसुवासहित नेपालको चार जिल्ला  प्रभावित हुने गरी आएको विनाशकारी बाढीमा बेपत्ता महोत्तरीको पिपरा गाउँपालिका– ३ घर भई त्रिशूली ३ ‘ए’मा कार्यरत इन्जिनियर विकासकुमार यादवका परिवारले उनको शीघ्र खोजी गरिदिन सरकारसँग आग्रह गरेको छ ।

श्रीमानसँगै बाढीको वेला रसुवामै रहेकी श्रीमती इन्द्रा यादवले श्रीमान् कोठाबाट अलि टाढा रहेको ३ ‘ए’को टनेलभित्रको अफिसमा गएको र टनेलभित्रैबाट नास्ता खाइरहेको वेला फोनमा सम्पर्क गरेको केही बेरमै बाढी आएको बताइन् । श्रीमानसँग अन्तिम कुरा टनेलभित्रै भएको र टनेलभित्र अक्सिजन सप्लाईसहित बस्नेसम्मको सुविधा भएकोले श्रीमान् फर्कने आस अझै नमरेको बताउँछिन् । उनी सरकारले उद्धारमा ढिलो गरेको आरोप लगाउँछिन् ।

यता बेपत्ता भएका इन्जिनियर विकासका बुबा शम्भुनाथ यादव छोराको खोजीको लागि सरकारले अझै संयन्त्रहरूको प्रयोग गर्नुपर्ने बताउँछन् । टनेलभित्र ४० देखि ४२ जना इन्जिनियरहरूको टोलीसहित थप केही कर्मचारी भएकाले सरकारले आफ्नै सन्तानझैँ अरूको सन्तानको सुरक्षा गरिदिनुपर्ने बताउँछन् ।

त्यस्तै ससुरा विजय यादव भारतलगायतका देशहरूले प्राविधिकसहितको टोली पठाउने सुरुमा गरेको प्रस्तावलाई प्रधानमन्त्रीले नमानेकै कारण बाँच्न सक्नेहरूरुको समेत आस डुबेको बताउँछन् ।  बाढीले बगाएर बेपत्ता भएका वा मृत्युवरण गरेकाबाहेक विभिन्न स्थानमा फसेकाहरूको सरकारकै ढिलासुस्तीले ज्यान जाने वा गएको ज्यानको जिम्मा सरकारकै हुने उनको भनाइ छ ।

सुझावित समाचार