नेपालले एसिसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । बिहीबार नेपालले मलेसियाको युकेएम युएसडी ओभलमा घरेलु टोली मलेसियालाई ६ विकेटले हरायो।
टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाएर १०४ रनको लक्ष्य दियो । जवाफमा नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर साे लक्ष्य पूरा गर्यो । नेपालका अर्जुन कुमालले अविजित ४५ रनको योगदान गरे । उनले ६८ बलमा चार चौका प्रहार गरे । ईशान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले अविजित १२ र रोहितकुमार पौडेलले १० रन बनाए । तेस्रो विकेटका निम्ति अर्जुन र ईशानबिच ५७ रनको साझेदारी भएको थियो ।
मलेसियाका वीरनदीप सिंह, प्रशान्त मधुकर, आरिफ उल्लाह र कप्तान सैयद अजिजले समान एक विकेट लिए । त्यसअघि मलेसियाका सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४ र मोहम्मद स्याहदत रमिलले १३ रन जोडे ।
नेपालका करण केसीले चार, ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानले समान एक विकेट लिए । जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । पहिलो हार व्यहोरेको मलेसिया समान खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ ।
पहिलो खेलमा नेपालले बहराइनलाई सात विकेटले हराएको थियो । मलेसियाले साउदी अरेबियालाई ९३ रनले पराजित गरेको थियो । नेपालले अब आउँदो आइतबार साउदी अरेबियाको सामना गर्नेछ ।