रसुवा र तातोपानी नाका अवरुद्ध भएपछि चीनबाट वस्तु आयात गर्ने तेस्रो प्रमुख नाका मुस्ताङको कोरला व्यस्त हुने भएको छ । ढुवानीका लागि टाढा र महँगो मानिए पनि अहिले चीनबाट सामान आयात गर्ने एक मात्रै विकल्प कोरला नाकामा कन्टेनरहरू डाइभर्ट हुन लागेका छन् । दसैँ र जाडोका लागि नेपाल ल्याउँदै गरेका केरुङ तथा अन्य चिनियाँ भूभागमा रहेका करिब २५० कन्टेनरहरू कोरला नाकातर्फ पठाउने तयारी भइरहेको व्यवसायीहरूले बताएका छन् ।
रसुवाको टिमुरे नाकामा भोटेकोशीको विनाशकारी बाढीपछि नेपाल–चीन व्यापारका लागि वैकल्पिक मार्गका रूपमा रहेको तातोपानी नाका पनि बन्द छ । जसले गर्दा दसैँतिहार र जाडो महिनाका लागि नेपाली व्यापारीले ल्याएका सामान केरुङ, ल्हासा र चिनियाँ सडकमा अलपत्र छन् । यी नाकाको विकल्पमा कोरला नाका प्रयोग गर्ने हो भने ढुवानी भाडा पाँच गुणासम्म बढ्ने व्यवसायीहरू बताउँछन् । यद्यपि, अहिलेको संकट टार्नका लागि कोरला नाकालाई वैकल्पिक नाकाको रूपमा सञ्चालनमा ल्याउनुपर्ने माग व्यवसायीले गर्दै आएका थिए ।
१० भदौमा आएको बाढीले रसुवा नाकाको मितेरी पुलसहित भन्सार प्रशासनका संरचना बगाएपछि उक्त नाका सञ्चालन नै अनिश्चित भएको छ । अर्कोतर्फ चीनले तातोपानी नाका पनि नखुलाएका कारण उत्तरी नाकाबाट हुने आयात प्रभावित भएपछि सरकारले कोरला नाकाबाट सामान ल्याउने बाटो खुलाएको हो ।
भन्सार विभागले पनि कोरला नाकाबाट आयात हुने सामान काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्न सकिने व्यवस्था गरेको छ । भन्सार विभागका महानिर्देशक यमलाल भुसालले रसुवा र तातोपानी नाका सञ्चालनमा नरहेकाले वैकल्पिक रूपमा कोरला नाकाबाट आयात सहज बनाउन व्यवस्था गरिएको बताए ।
चोभारमै जाँचपास
भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि ल्याइएका वस्तु त्यहाँ जाँचपास नगरी चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा लगेर जाँचपास गर्न चाहने आयातकर्तालाई आन्तरिक परिवहनको सुविधा दिने निर्णय गरेको छ । भन्सार ऐन, २०८२ को दफा ६४ तथा भन्सार नियमावली, २०८३ को नियम ६२ को उपनियम (७) बमोजिम यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ । यो सुविधा अर्को निर्णय नभएसम्म लागू हुनेछ । यसअनुसार आयातकर्ताले चीनबाट कोरला नाकासम्म ल्याएको सामान त्यहाँबाट काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहसम्म तोकिएको सडकमार्ग हुँदै ढुवानी गरी जाँचपास गराउन सक्नेछन् । आयातको सुरुदेखि नै चोभारमा जाँचपास गर्ने गरी आवश्यक कागजात तथा प्रक्रियासमेत मिलाउन सकिने विभागको भनाइ छ ।
कोरलाबाट ५८ करोडको आयात, निर्यात शून्य
चालू आर्थिक वर्ष ०८३/८४ को साउनमा रसुवा नाकाबाट पाँच अर्ब ६७ करोड ८७ लाख रुपैयाँबराबरको वस्तु आयात भएको थियो । साउन महिनाभरिको कुल आयातको ३.०३ प्रतिशत यो नाकाबाट भएको हो । यो नाकाबाट निर्यात भने ११ करोड ६१ लाख ९० हजार रुपैयाँबराबरको भएको थियो । तातोपानी नाकाबाट साउनमा १३ करोड ४६ लाखको आयात भएको थियो । मुस्ताङको कोरला नाकाबाट ५८ करोड ८७ लाख रुपैयाँको आयात भएको थियो । यी दुई नाकाबाट निर्यात शून्य छ ।
दुई वैकल्पिक सडकमार्ग
भन्सार विभागले मालवाहक सवारीसाधनका लागि कोरला–चोभार दुईवटा सडकमार्ग तोकेको छ । पहिलो मार्ग कोरला–नेचुङ (भन्सार)–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिङ–कुरिनटार–नौबिसे–कलंकी–चोभार सुक्खा बन्दरगाह रहेको छ । दोस्रो मार्ग कोरला–नेचुङ–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–मुग्लिङ–नारायणगढ–हेटौँडा–भैँसे–नौबिसे–कलंकी–चोभार तोकिएको छ ।
यसैगरी, गुडाएर लैजान मिल्ने नयाँ सवारीसाधनका लागि यी मार्गबाहेक कोरला–नेचुङ–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिङ–नारायणगढ–हेटौँडा–भैँसे–फर्पिङ–चोभार सुक्खा बन्दरगाह मार्गसमेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । विशेष गरी, कन्टेनरमा आउने सामान तथा नयाँ सवारीसाधनलाई कोरला नाका हुँदै काठमाडौंसम्म ल्याएर चोभारमै भन्सार जाँचपास गर्ने बाटो खुलेको हो । नाका क्षेत्र र चिनियाँ भूभागमा दुई सय ५० भन्दा बढी कन्टेनर रोकिएको अनुमान छ । रसुवा भन्सार यार्डमा रहेका करिब पाँच सय कन्टेनर बगाएको अनुमान छ ।