तराईबाट ग्यास र हवाई इन्धन आपूर्ति सहजीकरण गर्न आयल निगमको टोली फिल्डमा

बुधबार, १७ भदौ, २०८३
डिजिटल संस्करण

तराईबाट ढुवानी हुने ग्यास र हवाई इन्धनको सहजीकरण गर्न आयल निगमले गठन गरेको दुवै कार्यदलमा रहेका कर्मचारीहरूले अनुगमनलाई तीव्रता दिएका छन् ।

हवाई इन्धन सहजताका लागि उपनिर्देशक रामहरि निरौलाको संयोजकत्वमा अनुपम पराजुली र मधुमास कोविद पुन रहेको कार्यदल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा बसेको छ ।

संयोजक निरौलाले काठमाडौंका लागि हवाई इन्धन बोकेका ७३ ट्यांकर हेटौँडामा रहेको बताए । ‘७३ मध्ये आधा ट्यांकर रातको समयमा त्रिभुवन राजपथ हुँदै काठमाडौंका लागि निस्किएका छन्,’ अमलेखगन्जमा रहेका निरौलाले टेलिफोनमा भने, ‘बाँकी ट्यांकर पनि बाटोको सुविधा हुनासाथ काठमाडौं प्रस्थान गर्छन् । १२ वटा ट्यांकरले २४ हजार लिटर र बाँकीले २० हजार लिटर हवाई इन्धन बोकेका छन् ।’

मंगलबार दिउँसो कान्ति लोकपथ हुँदै गएको उनको टोली ठाउँठाउँमा गएको पहिरोका कारण बुधबार बिहान मात्रै हेटौँडा पुगेको थियो । जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा बुधबार दिउँसो भएको छलफलमा कान्ति लोकपथबाट पेट्रोलियम पदार्थ ढुवानी सम्भव नहुने राय दिएको उनले बताए । ‘जतिसक्दो छिटो काठमाडौंमा पेट्रोलियम पदार्थ पुर्याउनुपर्ने दबाब छ । त्यसैले, कान्ति लोकपथबाट घण्टौँसम्म बाटोमा रोकिएर जाने कुरा सम्भव हुँदैन भनेर छलफलमा राय पनि दिएको छु,’ उनले भने, ‘अर्कातिर, पहिरोका कारण बाटो कटान भएकाले जोखिमपूर्ण यात्रासमेत छ । यस्तो बाटोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने कुरा अत्यन्त जोखिमपूर्ण हुन्छ।’ 

ग्यास आपूर्ति सहजताका लागि उपनिर्देशक अभिषेक ठाकुरको संयोजकत्वमा उपेन्द्र सुवेदी, सुमन पुडासैनी र विकास बखती रहेको कार्यदलले पनि बुधबार दिनभर पाँचवटा उद्योगको निरीक्षण गरेको छ ।

कार्यदलका सदस्य सुवेदीका अनुसार चितवनमा रहेको नेपाल, बाबा, साइबाबा, एचपी र हेटौंडामा रहेको साहारा ग्यास उद्योगको निरीक्षण भएको छ ।

बुधबार साँझ हेटौँडास्थित साहारा ग्यास उद्योगको निरीक्षण गर्दै गर्दा टेलिफोन सम्पर्कमा आएका सुवेदीले भने, ‘तराईका उद्योगमा भारतबाट ग्यास लिएर आएका बुलेटहरू अनलोड गर्न नपाएर अलपत्र अवस्थामा रहेको पायौँ । काठमाडौं र धादिङमा रहेका उद्योगबाट पर्याप्त मात्रामा खाली सिलिन्डर आउन सकेका छैनन् ।’

चितवनस्थित नेपाल ग्यास उद्योगमा एचपी ब्रान्डको सिलिन्डरमा ग्यास भरेर सहजीकरण भइरहेको अवस्थामा भेटिएको उनले बताए । ‘एउटा उद्योगले अन्य ब्रान्डका सिलिन्डरमा ग्यास भरेर सहजीकरण गरिरहेका छन्,’ सुवेदीले भने । नेपाल ग्यासले साना गाडीमा खाली सिलिन्डर चितवन मगाएको र ग्यास भरेर ठुलो ट्रकमा काठमाडौं पठाउन लागेको उनले जानकारी दिए । 
‘उद्योगीले ठुला ट्रकमा ग्यास पठाउनका लागि बुधबार दिनभर जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा छलफल पनि गरेका छन् । ट्रकको भाडादरमा सहमति पनि भएको छ,’ सुवेदीले भने, ‘यहाँका उद्योगमा पर्याप्त मात्रामा ग्यास छ, यसलाई ठुलो ट्रकमा हालेर जतिसक्दो छिटो काठमाडौं पठाउन हामीले पनि सहजीकरण गरिरहेका छौँ ।’

उद्योगीले बिहीबार बिहानदेखि तराईबाट सयवटा ठुला ट्रकमा ग्यास हालेर काठमाडौंमा आपूर्ति गर्ने योजना बनाएका छन् । त्यस्तै, काठमाडौंबाट पनि सयवटा ट्रकमा खाली सिलिन्डर तराईमा ओसार्ने उद्योगीको योजना छ ।

सुझावित समाचार