बाढीपछि सम्पर्कविहीन छन् सुदूरपश्चिमका १४६ जना

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण
बाढीपछि सम्पर्कविहीन छन् सुदूरपश्चिमका १४६ जना

नुवाकोटको देवीघाटमा बाढी प्रभावितको उद्धार गर्दै उद्धारकर्मी ।

रसुवा, नुवाकोटलगायत जिल्लाका बाढी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका १४६ जना अझै सम्पर्कमा आएका छैनन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार १८४ जना सम्पर्कविहीन रहेको भनी सम्बन्धित परिवारले यहाँका विभिन्न जिल्लास्थित प्रहरी कार्यालयलमा जानकारी गराएका थिए।

बाढीपछि सम्पर्कविहीन प्रदेशका ३८ जना सम्पर्कमा आएका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्टले जानकारी दिए। सबैभन्दा बढी कैलालीका ६० जना र कञ्चनपुरका ३६ जना बाढीपछि बेपत्ता छन्। कतिपय परिवार प्रदेशस्थित प्रहरी कार्यालयहरूमा सम्पर्कमा नआएकाले बेपत्ता सुदूरपश्चिमका नागरिकको संख्या धेरै हुन सक्ने प्रहरीको अनुमान छ।

बेपत्तामध्ये अधिकांश प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा काम गर्ने कामदार छन्। केही सुरक्षाकर्मी, कर्मचारी छन्। उनीहरूका आफन्तले खोजविनका लागि प्रदेश सरकार र प्रहरी कार्यालयहरूलाई गुहारिरहेका छन्। 

रसुवाको त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत बझाङको जयपृथ्वी नगरपालिका–८ का हेमन्तराज जोशी बाढीपछि सम्पर्कविहीन छन्। बाढी आएको सात दिनसम्म पनि उनको अवस्था थाहा नपाएपछि परिवार पीडामा छन्। उक्त आयोजनाको सुरुङभित्र ४३ जना फसेका सार्वजनिक भएको छ।

आफ्ना श्रीमान् हेमन्त जीवित भेटाउने आशामा छिन् हृदयश्वरी जोशी। सुरुङमा छिटोभन्दा छिटो उद्धार गरिदिन उनले सरकारलाई गुहारिरहेकी छिन्। ‘मेरो श्रीमान् जीवित पाउँछु भन्ने आशा अझै छ। उद्धारमा निकै ढिलो भएको छ, तर विदेशबाट जनशक्ति ल्याएर भए पनि सरकारले छिटोभन्दा छिटो उद्धार गरिदिए हुन्थ्यो,’ हृदयश्वरीले रुँदै भनिन्। हेमन्त आयोजनामा इन्जिनियर थिए।

प्रदेश प्रहरी कार्यालयका अनुसार बाजुराका र डडेल्धुराका १६-१६, बैतडीका आठ, दार्चुलाका चार तथा डोटी, अछाम र बझाङका दुई-दुईजना सम्पर्कविहीन रहेको परिवारबाट प्रहरीलाई जानकारी आएको छ। बेपत्ता व्यक्तिहरूको खोजबिनका लागि सम्बन्धित क्षेत्रमा समन्वय भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिमका नागरिकको खोजबिन तथा उद्धारमा समन्वय गर्न प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। धनगढीमा मंगलबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री भट्टले बाढीपछि हराइरहेका नागरिकको खोज तथा उद्धारमा समन्वय प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।
 

सुझावित समाचार