शारदा ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले सो रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरको छन् । उक्त सहयोग ग्रुपअन्तर्गतका विभिन्न कम्पनीको तर्फबाट प्रदान गरिएको बताइएको छ । जसमा पशुपति खाद्य तेल उद्योग प्रालिले ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिज प्रालिले १५ लाख, प्रिमियर वायर्स प्रालिले १५ लाख र प्रिमियर डिस्टिलरी लिमिटेडले १० लाख रुपैयाँ रहेको छ ।
आर्थिक सहयोगसँगै ग्रुपले राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउन आवश्यक सामग्री तथा मानवीय सहायता पनि उपलब्ध गराएको छ । ग्रुपले गुडलाइफ, रमपम चाउचाउ, गुडलाइफ बिस्कुट तथा जुस गरी करिब ६० लाख रुपैयाँबराबरका खाद्य तथा पेय पदार्थ सरकारलाई उपलब्ध गराएको हो । उक्त सामग्री विपत् प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका समुदायमा वितरण हुनेछ ।
त्यसैगरी, प्रभावित जिल्लामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन ग्रुपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क अक्सिजनसमेत उपलब्ध गराउने घोषणा गरेको छ । त्यसैगरी शारदा ग्रुपद्वारा प्रवर्द्धित कम्पनी शिवम् होल्डिंग्सले पनि कोषमा अतिरिक्त २१ लाख रुपैयाँ जम्मा गरेको छ ।
ग्रुपअन्तर्गतकै अर्को कम्पनी शिवम् सिमेन्टले प्रभावित क्षेत्रमध्ये एक गाउँको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेको छ । यसका साथै, विपत्बाट घाइते भएका व्यक्तिका लागि काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको ग्रुपको भनाइ छ ।