भोटेकोशी बाढी : १२ बैंकका १७ क्षतिग्रस्त शाखामा थियो साढे १९ करोड नगद

१ करोड ७१ लाख रहेको कृषि विकास बैंकको भल्ट भने फेला पर्‍यो, बाढीबाट बैंकहरूको साढे ५५ करोड क्षति भएको प्रारम्भिक आकलन

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

गत बुधबार आएको भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएका विभिन्न बैंकका १७ शाखामा साढे १९ करोड रुपैयाँ नगद रहेको देखिएको छ । बाढीले क्षतिग्रस्त बनाएको रसुवा, नुवाकोट र धादिङमा रहेका १२ बैंकका १७ शाखा, एटिएम र काउन्टरमा समेत गरी कुल १९ करोड ५८ लाख ९२ हजार ६९ रुपैयाँ रहेको नेपाल बैंकर एसोसिएसनले जनाएको छ । हालसम्म दुईबाहेक कुनै पनि शाखाको भल्ट भेटिएको छैन । उक्त भल्ट र नगद खोजीकै चरणमा रहेको बैंकरले बताएका छन् । 

बैंकर्स एसोसिएसनले संकलन गरेको प्रारम्भिक चरणको तथ्यांकले बाढीबाट क्षतिग्रस्त बैंक शाखाका भल्टमा १७ करोड २४ लाख ५७ हजार, एटिएममा एक करोड १६ लाख ६३ हजार र काउन्टरमा एक करोड १७ लाख ७१ हजार रुपैयाँ रहेको देखिएको हो । बाढीले १७ शाखामध्ये १६ मा पूर्ण क्षति बनाएको छ । यसमध्ये हालसम्म कृषि विकास बैंकको भल्ट मात्रै भेटिएको छ जसमा एक करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, अर्को एउटा भल्ट धादिङको गल्छीमा भेटिएको थियो । तर, भल्ट भेटाउने समूहले सरकारलाई नबुझाई नगद झिकेर बाँडफाँट गरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बाढीबाट बैंकमा कार्यरत एक सय १५ जना कर्मचारीमध्ये २६ जना अझै बेपत्ता छन् ।

कृषि विकास बैंकको क्षति बढी
बाढीबाट बैंकका शाखाहरूमा साढे ५५ करोड रुपैयाँबराबरको भौतिक क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ । बैंकका शाखाहरू पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ५५ करोड ६८ लाख ७० हजार रुपैयाँबराबरको सम्पत्ति क्षति पुगेको अध्ययनले देखाएको हो । यसमध्ये सबैभन्दा ठुलो क्षति कृषि विकास बैंकको रहेको छ । आफ्नै भवन रहेको उक्त बैंकलाई ५० करोड रुपैयाँबराबरको क्षति पुगेको हो ।

त्यस्तै, सबैभन्दा कम एनएमबि बैंकको शाखामा देखिएको छ । रसुवाको गोसाईँकुण्ड गाउँपालिकामा रहेको उक्त शाखामा दुई लाख ७५ हजार रुपैयाँबराबरको क्षति पुगेको हो । सिटिजन्स बैंकमा एक करोड २० लाख १७ हजार रुपैयाँबराबरको क्षति पुगेको हो । बाढीबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तीन शाखामा क्षति पुगेको छ । गोसाईँकुण्ड गाउँपालिका र कालिका गाउँपालिकामा रहेका तीन शाखामा गरी कुल ३० लाख ४५ हजार ३८ रुपैयाँबराबरको क्षति पुगेको हो । 

क्षतिग्रस्त शाखाको निक्षेप साढे चार अर्ब, कर्जा साढे दुई अर्ब 
भोटेकोशी बाढीबाट क्षतिग्रस्त बैंकका शाखाहरूमा ७८ हजार दुई सय चारजना निक्षेपकर्ताले कुल चार अर्ब ४३ करोड १८ लाख १० हजार रुपैयाँ निक्षेप जम्मा गरेका थिए । त्यस्तै, ती शाखाबाट दुई हजार एक सय २५ जना ग्राहकलाई कुल दुई अर्ब ४२ करोड ८० लाख ९० हजार कर्जा प्रवाह भएको थियो । बाढी प्रभावित क्षेत्रमा ठुलो जनधनको क्षति पुगेका कारण बैंकको कर्जासमेत जोखिममा परेको छ । 

See More On

सुझावित समाचार