अन्नपूर्णमा दोस्रो मंगोलियन खेलाडी एर्डेन आबद्ध

दक्षिण कोरिया र इराकका फ्रेन्चाइज लिग खेलिसकेका मंगोलियाका राष्ट्रिय भलिबल टोलीका सदस्य एर्डेन जारगालासोटले १९ भदौबाट सुरु हुने एनभिएलमा अन्नपूर्ण स्पाइकरबाट खेल्ने

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

अन्नपूर्ण स्पाइकर किंग्सले पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)का लागि मंगोलियन राष्ट्रिय भलिबल टोलीका अपोजिट हिटर इंख एर्डेन जारगालसोटलाई अनुबन्ध गरेको छ । नेपालमा पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगमा मंगोलियाका एर्डेनलाई अनुबन्ध गर्न पाउँदा अन्नपूर्ण उत्साहित देखिएको छ । अन्नपूर्णले लिगका लागि अनुबन्ध गरेको एर्डेन दोस्रा मंगोलियन हुन् । 

यसअघि उसले मंगोलियाकै आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरेको थियो । २६ वर्षीय एर्डेनले दक्षिण कोरिया र इराकका विभिन्न क्लबमा आबद्ध भएर फ्रेन्चाइज लिग खेलेका छन् । उनले घरेलु कोर्टमा भएको एसियन इस्टर्न जोनल पुरुष भलिबल च्याम्पियनसिपमा मंगोलियालाई कांस्य पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ६ फिट ६ इन्च अग्ला एर्डेनको आगमनले अन्नपूर्णको अट्याक लाइन अझै मजबुत र सन्तुलित हुने विश्वास छ । एर्डेनले सन् २०२२ मा मंगोलियाको मिनजित बुल्गान र २०२४ मा एसजी हवक्सबाट खेलेका थिए । 

दुवैपटक मंगोलिया प्रिमियर लिगमा उनले कांस्य जितेका थिए । यस्तै, उनले दक्षिण कोरियाको दाइजिओन सामसुङ ब्लुफाङ्गस र सुवन केप्को भिक्सटोर्मबाट खेलेका थिए भने इराकको मासाफी अलसेमालबाट पनि खेलेका छन् । अन्नपूर्ण स्पाइकर किंग्सले एनभिएलका लागि मंगोलियाका दुई खेलाडी अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ । अब अन्नपूर्णले अर्का विदेशी खेलाडी पनि छिट्टै घोषणा गर्ने जनाएको छ । 

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै एनभिएल लिगमा प्रतिस्पर्धा गर्न लागेको अन्नपूर्णमा प्रदेशकै मिडल ब्लकर हिमाल सुनारी मार्की र गण्डकीका रमेश केसी मुख्य प्रशिक्षक छन् । नेपाली पुरुष राष्ट्रिय टोली र त्रिभुवन आर्मी क्लबका पूर्वखेलाडी नगेन्द्र गिरी सहायक प्रशिक्षकमा छन् । काभा पुरुष भलिबल च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका राजेन्द्र धामी पनि अन्नपूर्णमै छन् । 

गण्डकीका  खेलाडीको बाहुल्य
अन्नपूर्णका अन्य खेलाडीमा गण्डकी प्रदेशकै चर्चित खेलाडी छन् । रवि केसीदेखि विश्वास अधिकारी, विवश आले, सुरेन्द्र केसीले अन्नपूर्णबाट प्रतिस्पर्धा गर्नेछन् । उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेका लिबेरो जितबहादुर शार्की र देव राना पनि टोलीमा छन् । अन्नपूर्णले युवा खेलाडीलाई समेत स्थान दिने उद्देश्यले ट्यालेन्ट हन्टबाट किरण भण्डारीलाई छनोट गरेको छ ।

हरेक टोलीले ट्यालेन्ट हन्टबाट एक खेलाडी छनोट गर्नुपर्ने प्रावधान छ । जसअनुसार अन्नपूर्णले पोखरामा ट्यालेन्ट हन्ट आयोजना गर्दै किरणलाई छनोट गरेको हो । स्वदेशी र विदेशी खेलाडीको मिश्रणसँगै उत्कृष्ट कोचिङ स्टाफसहितको अन्नपूर्णले पहिलो संस्करणको नेपाल भलिबल लिगमा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य राखेको छ । नेपाल भलिबल लिग आगामी १९ भदौदेखि काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ । 

मधेश र सगरमाथाबिच पहिलो खेल
एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनामा हुने एनभिएलको खेल तालिका सार्वजनिक भएको छ । आगामी १९ भदौदेखि सुरु हुने लिगको पहिलो खेलमा मधेश वारियर्सले सगरमाथा स्म्यासर्सको सामना गर्नेछ । दोस्रो खेलमा अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । लिगमा मधेश, सगरमाथा, अन्नपूर्ण, कर्णालीसहित खप्तड फाल्कन्स र काठमाडौं रेड्स गरी ६ पुरुष फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । सहभागी टिमले पहिले एकल राउन्ड रोबिन लिगका आधारमा खेल खेल्नेछन् । 

सुझावित समाचार