बाढीबाट नुवाकोट र रसुवाका आठ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त : २४१ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण
बाढीबाट नुवाकोट र रसुवाका आठ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त : २४१ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन

नुवाकोटको उत्तरगया बोर्डिङ स्कुलका विद्यार्थीले जंगलको बाटो उक्लिएर १० भदौको विनाशकारी बाढीबाट ज्यान जोगाएका थिए । ६ घण्टा उकालो हिँडेर कल्याण आधारभूत विद्यालयमा पुगेपछि मात्रै ५१ विद्यार्थी र शिक्षक सुस्ताएका थिए । फाइल तस्बिर

भोटेकोशी र त्रिशूलीको बाढीमा परेर रसुवा र नुवाकोट तथा केही अन्य जिल्लाका समेत गरी २४१ विद्यार्थी र १५ शिक्षक बेपत्ता भएका खुलेको छ । दुई जिल्लाका पाँच सामुदायिक र तीन निजी गरी आठ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । यो दुवै जिल्ला प्रशासन कार्यालयले शिक्षा तथा खेलकुद मन्त्रालयलाई उपलब्ध गराएको प्रारम्भिक तथ्यांक हो । 

मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले सामुदायिक विद्यालयतर्फ रसुवाका नेपाल राष्ट्रिय आधारभूत, चिप्लेटी आधारभूत र मालिका देवी आधारभूत विद्यालय तथा नुवाकोटका रामचन्द्र आधारभूत र त्रिभुवन त्रिशूली मावि क्षतिग्रस्त भएका छन् । त्यस्तै, निजीतर्फ नुवाकोटका उत्तरगया पल्लिक बोर्डिङ र त्रिशूली सामुदायिक बोर्डिङ तथा रसुवाको मोडर्न ट्रिनिटी स्कुल क्षतिग्रस्त भएका हुन् । आठै विद्यालय रहेको ठाउँ र सबै संरचना खण्डहर बनेका छन् । 

‘हामीले प्रारम्भिक रूपमा प्राप्त गरेको तथ्यांक यही हो, यसबाहेक अन्य थप क्षति पनि हुन सक्छ, किनभने त्यहाँ भौतिक रूपमा पुगेर हेर्ने र क्षतिको विवरण संकलन गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘केही दिनभित्र घटनास्थलमा पुगेर र्यापिड सर्भे गर्छौँ ।’ प्रवक्ता भट्टराईका अनुसार बाढी आउँदा विद्यालयमा विद्यार्थी थिए कि थिएनन् भने यकिन भएको छैन ।

 त्रिशूली माविमा भने सबै विद्यार्थीलाई विद्यालयबाट बाहिर सुरक्षित स्थानमा सारेको विद्यालयका प्रधानाध्यापकले जानकारी गराइसकेका छन् । उनले करिब एक हजार ६ सय विद्यार्थीलाई सुरक्षित स्थानमा सारेको बताएका छन् । यो विद्यालयमा विद्यार्थी हराएको भनेर कुनै खबर नआएको मन्त्रालयले जनायो । तर, अन्य सामुदायिक तथा निजी विद्यालयमा भने विद्यार्थी कति थिए र बाढी आउने वेलामा कहाँ थिए भन्ने निश्चित भइसकेको छैन । 

‘बाढीमा परेर रसुवा र नुवाकोटबाट २४१ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन भएको तथ्यांक आएको छ । तर, उनीहरू सबै नुवाकोट र रसुवाका मात्रै पनि होइनन्, कतिपय अन्य जिल्लाबाट गोसाईंकुण्ड, मानसरोवरसम्म पुग्नका लागि हिँडेकाहरू पनि थिए,’ प्रवक्ता भट्टराईले भने, ‘यसको यकिन संख्या अझै थपघट हुन सक्छ । योभन्दा धेरै विद्यार्थी हराएका पनि हुन सक्छन् ।’

क्षतिग्रत विद्यालयलाई अब कसरी सञ्चालन गर्ने, त्यहाँ अध्ययनरत विद्यार्थीको पढाइको निरन्तरता कसरी सहज बनाउने भन्नेबारे शिक्षा मन्त्रालयले योजनाबद्ध रूपमा गृहकार्य गर्ने प्रवक्ता भट्टराईले बताए । क्षतिग्रस्त बनेका र जोखिममा रहेका विद्यालय स्थानान्तरण गरिने योजना रहेको र त्यसका लागि विद्यालय सञ्चालक र प्रधानाध्यापकसँग छलफल भइरहेको भट्टराई बताउँछन् । 

‘क्षतिग्रस्त बनेका र जोखिममा रहेका विद्यालय स्थानान्तरण गर्ने विषयमा विद्यालय सञ्चालक र प्रधानाध्यापकहरूसँग छलफल भइरहेको छ । भौतिक रूपमा प्रभावित नभएका विद्यालय सञ्चालन गर्ने, विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने, उनीहरूको शैक्षिक मनोबल पुरानै अवस्थामा पुर्याउने किसिमका कार्यक्रमबारे पनि हामीले जिल्ला शिक्षा विकास समन्वय इकाइसँग सहकार्य गरेर काम गरिरहेका छौँ,’ उनले भने ।उद्धार अनुरोध पोर्टलमा अद्यावधिक भएको तथ्यांकमा भने १८ वर्षमुनिका ९८६ बालबालिका सम्पर्कविहीन छन् । यो उमेरका अधिकांश बालबालिका विद्यालय जाने उमेरका हुन्छन् । 

प्रभावित क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै परीक्षा स्थगित
बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई लक्षित गरी विश्वविद्यालयहरूले परीक्षा–तालिका सारेका छन् । त्रिभुवन, पोखरा, सुदूरपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयले छात्रवृत्ति र परीक्षा फारम स्थगित गरेका छन् । पोखरा र पूर्वाञ्चलले ११ भदौदोखि तालिका रहेको स्नातक तहको परीक्षासमेत स्थगित गरेका छन् ।

अहिले परीक्षा वा अन्य शैक्षिक गतिविधि सञ्चालन गर्दा बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई असहज हुन सक्ने भन्दै विश्वविद्यालयले सबै प्रकारका परीक्षा र शैक्षिक गतिविधि हाललाई स्थगित गरेका हुन् । त्यस्तै, नुवाकोट र रसुवाका अधिकांश क्याम्पसले तत्काललाई पठनपाठनसमेत बन्द गर्ने निर्णय गरेका छन् । ओहोरदोहोरमा कठिनाइ तथा बाढीपीडित क्षेत्रका विद्यार्थीको पढाइमा मर्का पर्ने भन्दै क्याम्पसहरूले यस्तो निर्णय गरेका हुन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराई भन्छन्– बाढीमा परेर रसुवा र नुवाकोटबाट २४१ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन भएको तथ्यांक आएको छ । तर, उनीहरू सबै नुवाकोट र रसुवाका मात्रै पनि होइनन्, कतिपय अन्य जिल्लाबाट गोसाईंकुण्ड, मानसरोवरसम्म पुग्नका लागि हिँडेकाहरू पनि थिए । यसको यकिन संख्या अझै थपघट हुन सक्छ । 

सुझावित समाचार