रसुवा र नुवाकोटमा २६ अस्थायी आश्रयस्थल, तीन हजार ४५४ प्रभावितले पाए आश्रय र राहत

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि संघीय तथा स्थानीय सरकारको समन्वयमा रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।

यी केन्द्रबाट आइतबार मात्रै तीन हजार ४५४ जना प्रभावितले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्। नुवाकोटमा मात्रै १६ वटा आश्रयस्थल तथा शिविरमा दुई हजार २७४ जना प्रभावितले आश्रय लिएका छन्।

विदुर नगरपालिका– १, तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशूली–ढुंगे तथा सिमचौर क्षेत्रका प्रभावितलाई सेफहाउस तथा किरियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हल र देवीघाट क्षेत्रका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा सञ्चालन गरिएको आश्रयस्थलमा राखिएको छ।

त्यसैगरी, बेत्रावती–भैँसे क्षेत्रका प्रभावितलाई सुन्दरी क्याैरिनी माध्यमिक विद्यालय तथा त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कभर्ड हल, भैरुम माध्यमिक विद्यालय, रिमालडाँडा र इन्द्रायणी आधारभूत विद्यालयमा सञ्चालित शिविरमा राखिएको छ।

विदुर– ३, देवीघाट–सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी माध्यमिक विद्यालय तथा वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर– ९ का प्रभावितलाई त्रिशूली आधारभूत विद्यालय र शुलक्षणा माध्यमिक विद्यालयमा राखिएको छ।

बेलकोटगढीको रातमाटे–जिलिङ क्षेत्रका प्रभावितलाई महादेव माध्यमिक विद्यालय, किस्पाङ गाउँपालिका– ५ का प्रभावितलाई कार्की मनकामना आधारभूत विद्यालय र त्रिभुवन माध्यमिक विद्यालय तथा रसुवाका केही प्रभावितलाई बट्टारस्थित तामाङ प्लाजामा राखिएको छ।

उद्धार गरिएका घाइतेको उपचारका लागि विदुर– २ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी– ७ को महादेव माध्यमिक विद्यालय र विदुर– ९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली परिचालन गरिएको छ।

रसुवामा १० आश्रयस्थल

रसुवामा पनि बाढी प्रभावितको उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। जिल्लाका १० वटा अस्थायी आश्रयस्थलमा आइतबार मात्रै एक हजार १८० जना विपत् प्रभावितले आश्रय लिएका छन्।

स्थानीय तहको समन्वयमा उत्तरगया गाउँपालिका– २, डाँडागाउँ तथा आमाछोदिङ्मो गाउँपालिका– १ र २ का हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा छन्।

त्यस्तै, गोसाईंकुण्ड गाउँपालिका– १, २, ३ र ५ अन्तर्गत थुमन, दालफेदी, खैदी, वृद्धिम, लिलिङ र स्याफ्रुबेँसीमा पनि अस्थायी आश्रयस्थल सञ्चालनमा ल्याइएको छ। आमाछोदिङ्मो गाउँपालिका– १ र २ अन्तर्गत हाकु, पाङग्राङ र ग्रेमा समेत प्रभावितलाई राखिएको छ।

राहत सामग्री पुग्न नसकेको कुनै स्थान नरहेको प्रशासनले जनाएको छ। भौगोलिक विकटताका कारण अधिकांश दुर्गम क्षेत्रमा हेलिकाेप्टरमार्फत राहत सामग्री पुर्याइएको छ।

बाढी प्रभावितको उपचारका लागि धुन्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली, हेली क्षेत्रमा प्रादेशिक अस्पतालको टोली तथा रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी परिचालन भएका छन्। हेली क्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोलीसमेत उपचारमा सक्रिय छ।

बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तथा प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै राहत र औषधोपचार पुर्याउन स्थानीय प्रशासन र सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालित छन्।

सुझावित समाचार