भोटेकोशीको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सिराहाका चार स्थानीय तहले २६ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग गर्ने भएका छन्।
बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री विपत् व्यवस्थापन कोषमा जिल्लाकै सबैभन्दा ठुलो लहान नगरपालिकाले ११ लाख, गोलबजार नगरपालिकाले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ, कल्याणपुर नगरपालिकाले पाँच लाख र सिराहा नगरपालिकाले पाँच लाख गरी २६ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएका हुन्।
लहान नगरपालिकाको ७३औँ नगर कार्यपालिकाको बैठकले नगर प्रमुखको एक महिनाको तलबसहित सम्पूर्ण पदाधिकारी र नगरपालिकामातहत कार्यरत कर्मचारीहरूको एक दिनबराबरको तलब रु ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।
पालिकाहरूले भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको ठुलो मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपतको कठिन घडीमा प्रभावित परिवारहरूको तत्काल उद्धार, आवश्यक राहत र सुरक्षित पुनर्स्थापना कार्यलाई मुख्य प्राथमिकता दिँदै स्थानीय सरकारको तर्फबाट सहयोग गरिएको जनाएका छन्।