धनकुटामा कोदोको जात परीक्षण

उन्नत जात, अनुसन्धानमै रहेका बिउ र रैथाने कोदोलाई एउटै बारीमा रोपेर तुलना हुँदै परीक्षणमा समावेश जात

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण
  • उन्नत जात ओख्ले, डल्ले, काभ्रे–१, काभ्रे–२ र शैलुङ 
  • अनुसन्धानकै क्रममा रहेका केएलई १५८, केएलई १५९ र केएलई २३६ 
  • स्थानीय रैथान जात लुली र मुड्की 

स्थानीय हावापानी तथा माटोअनुकूल हुने जात पहिचान गर्ने उद्देश्यले धनकुटामा किसानकै सहभागितामा कोदो बालीको १० जातको परीक्षण सुरु गरिएको छ ।धनकुटा नगरपालिका– ८, खाम्बेलामा सुरु गरिएको परीक्षणमा किसानका लागि सिफारिस गरिएका उन्नत जातदेखि अनुसन्धानकै क्रममा रहेका तथा स्थानीय रैथानेसम्मलाई एउटै बारीमा रोपेर तुलना गर्न थालिएको हो । 

किसानले आफ्नै आँखाले विभिन्न जातको कोदो वृद्धि, उत्पादन क्षमता र अनुकूलता हेर्न पाउने गरी परीक्षण सञ्चालन गरिएको छ । परीक्षणमा ओख्ले, डल्ले, काभ्रे–१, काभ्रे–२ र शैलुङ गरी पाँच उन्नत जात छन् ।

त्यस्तै, अनुसन्धानकै क्रममा रहेका केएलई १५८, केएलई १५९ र केएलई २३६ तथा धनकुटामा प्रचलित स्थानीय जात लुली र मुड्की पनि परीक्षणमा समावेश छन् । यी १० जातलाई वैज्ञानिक विधि आरसिबिडीअनुसार विभिन्न लाइनमा विभाजन गरी ३० वटा साना क्षेत्रमा रोपिएको छ । एउटै स्थान र लगभग समान वातावरणीय अवस्थामै फरक–फरक जात हुर्काएर कोदोको उत्पादनमा वृद्धि, स्थानीय वातावरणसँगको अनुकूलता र किसानका लागि उपयोगिताको तुलनात्मक अध्ययन गरिनेछ । सामान्यतः कृषि अनुसन्धानको निष्कर्ष प्रयोगशाला वा अनुसन्धान केन्द्रबाट किसानसम्म पुग्ने गर्छ । तर, खाम्बेलामा भइरहेको यो परीक्षणमा किसानलाई अनुसन्धानकै प्रक्रियामा प्रत्यक्ष सहभागी गराइएको छ । किसानले आफ्नो खेतमै विभिन्न जातको कोदो हेर्न, तुलना गर्न र त्यसको व्यवहार बुझ्न पाउनेछन् ।

किसानलाई प्रत्यक्ष जोडेर अनुसन्धान
किसानलाई उन्नत जातको कोदो उपलब्ध गराउने उद्देश्यले जातीय परीक्षण अघि बढाइएको वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार र विकास केन्द्र (सिप्रेड) नेपालका कार्यक्रम संयोजक टुकनारायण अर्यालले बताए । स्थानीय किसानको खेतमै परीक्षण गर्दा अनुसन्धानको निष्कर्ष व्यावहारिक र किसानको आवश्यकतासँग जोडिने उनको भनाइ छ । ‘कोदोका फरक–फरक जातलाई एउटै स्थानमा रोपिएपछि किसानका लागि पनि यो परीक्षण एउटा प्रत्यक्ष सिकाइको अवसर बनेको छ । कुनै जातको बोट अग्लो हुँदैमा मात्रै राम्रो हुँदैन । उत्पादन कति हुन्छ ? स्थानीय माटो र मौसमसँग कत्तिको मेल खान्छ ? दाना कस्तो हुन्छ ? खेती गर्न कति सहज छ र अन्ततः किसानलाई आर्थिक लाभ कति हुन्छ ? भन्ने विषयले जातको उपयोगिता निर्धारण गर्छ,’ संयोजक अर्यालले भने । 

स्थानीयस्तरमै वैज्ञानिक अनुसन्धान सञ्चालन गरी किसानलाई प्रत्यक्ष सहभागी गराउँदा उनीहरूका लागि उपयुक्त जात र प्रविधि छनोट गर्न सहज हुने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)मा कार्यरत डा. कमल अर्यालले जानकारी दिए । किसानको सहभागितामा गरिने यस्तो अनुसन्धानले कोदोको उत्पादन बढाउन मात्रै नभई खाद्य तथा पोषण सुरक्षामा समेत योगदान पुर्याउने उनको भनाइ छ ।

See More On

सुझावित समाचार