सनाखत हुन नसकेका १०० शव व्यवस्थापन

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

सनाखत हुन नसकेका शवको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले डिएनए नमुना सुरक्षित राखेर ट्यागसहित शव व्यवस्थापन गर्न थालेको छ । नारायणी नदीमा फेला परेका शवले अस्पतालका शवगृह भरिन थालेपछि चितवनको भरतपुर महानगरपालिका– १, रामनगर–देवघाट सडकखण्डनजिकैको जंगल क्षेत्रमा शवलाई व्यवस्थित रूपमा जमिनमुनि राख्न थालिएको हो ।

यसै क्रममा शनिबार मात्रै सयवटा शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । शव लामो समयसम्म सुरक्षित राख्ने पूर्वाधार अभाव भएकाले विश्वव्यापी रूपमा मान्य मानवीय मापदण्डअनुसार अस्थायी रूपमा व्यवस्थापन गर्नुपरेको उनले बताए ।

‘सिस्मेनीदेखि घोलघाटसम्म संकलन भएका शवमध्ये सनाखत भएका ६ वटा आफन्तलाई जिम्मा लगाइसकेका छौँ । बाँकी शव फ्रिजिङ गरेर राख्न सक्ने अवस्था रहेन,’ उनले भने, ‘संक्रमणको जोखिम बढेकाले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेका हौँ ।’

पहिचानका लागि टिचिङमा टाँसियो शवको फोटो : शवको फोटोसहितको विवरण प्रहरी वेबसाइटमा पनि 
टिचिङमा शवको संख्या धेरै भएपछि पहिचानका लागि अस्पताल प्रशासनले शवको फोटोसमेत टाँसेको छ । आफन्तले फोटो हेरेर आफ्ना परिवारका सदस्य पहिचान गरी लैजान सकून् भनेर त्यसरी फोटो टाँसिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसयराले बताए । उनका अनुसार अस्पतालपरिसरमा आफन्त खोज्न आउनेको भिड बढेको छ । तर, अस्पतालमा राखिएका शव कसका हुन् भन्ने अझै पहिचान हुन सकेको छैन । अस्पताल आएका आफन्तले बेडमा उपचाररत घाइते तथा शवगृहमा राखिएका शवका फोटो हेरेर आफ्ना मान्छे पहिचान गर्ने गरेका छन् । यद्यपि, खोजी गर्दै अस्पताल आउनेमध्ये अधिकांशका आफन्त अस्पतालमा फेला नपरेको अस्पताल प्रशासनले जनाएको छ । त्यस्तै, नेपाल प्रहरीको अनुसन्धान ब्युरोले पनि बेवारिसे अवस्थामा रहेका शवको फोटोसहित विवरण वेबसाइटमा राखेर पहिचानका लागि पहल गरिरहेको छ ।

सम्पर्कविहीन हुनेको संख्या रेकर्डमा ४,४७२ पुग्यो
सम्पर्कविहीन हुनेको संख्या प्रहरी रेकर्डमा ४४ सय ७२ पुगेको छ । जसमा ३६ सय ८६ नेपाली र ७८८ विदेशी छन् । रेकर्डबाहिर पनि कैयौँ बेपत्ता भएको अनुमान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको उद्धार अनुरोध पोर्टलमा सात हजार ८४८ जना सम्पर्कविहीन रहेको विवरण उल्लेख छ । जुन विवरण प्रमाणित भने भइनसकेको कार्यालयले जनाएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने करिब दुई हजार पाँच सय सम्पर्कविहीन भएको भनेर विवरण सार्वजनिक गरेको छ ।

सुझावित समाचार