खलबलियो दसैँ–तिहारको व्यापार

दसैँ–तिहारलक्षित सामान बोकेर आएका करिब पाँच सय कन्टेनर भोटेकोशी बाढीले बगायो, थप अढाई सय कन्टेनर सीमापारि अलपत्र

डिजिटल संस्करण
खलबलियो दसैँ–तिहारको व्यापार

बगर बनेको त्रिशूली बजार । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

  • उपभोक्तालाई चाडपर्वमा नयाँ सामान नपाउने र मूल्यसमेत महँगो पर्ने चिन्ता, व्यवसायीलाई व्यापारमा नोक्सानी र भन्सार एजेन्ट, ढुवानीकर्ता तथा मजदुरको रोजगारी संकटमा

१० भदौको रसुवा बाढीले दसैँ–तिहारलक्षित आयात प्रत्यक्ष प्रभावित भएको छ । हिमालय सीमापार वाणिज्य संघका अनुसार रसुवा भन्सार यार्डमा रहेका करिब पाँच सय कन्टेनर बगाएको अनुमान छ । त्यस्तै, चिनियाँ भन्सारपारि करिब अढाई सय कन्टेनर बाटोमै अलपत्र परेका छन् । बाढीले बगाएका र भन्सारपारि बाटोमा अलपत्र कन्टेनरमा दसैँ–तिहारलक्षित सामान छन् ।

संघका पूर्वअध्यक्ष अशोककुमार श्रेष्ठले नाका क्षेत्र र चिनियाँ भूभागमा दुई सय ५० भन्दा बढी कन्टेनर रोकिएको अनुमान रहेको बताए । रसुवाको बाटो र पूर्वाधारको क्षति हेर्दा नाका तत्काल सुरु हुन असम्भव रहेको उनको भनाइ छ । कन्टेनरमा लत्ताकपडा, जुत्ताचप्पल, फलफूल, काजु, किसमिसलगायतका भाइमसला, इलेक्ट्रोनिक्स र धातुका सामानलगायत रहेको संघले जनाएको छ ।

‘रसुवा नाकाबाट काठमाडौंका लागि ल्याइएका स्याउ, लसुनजस्ता चाँडै कुहिने फलफूल, तरकारी र जुत्ताचप्पललगायतका कपडाहरू कतिपय बगेका छन् भने कतिपय बाटोमै रोकिँदा पूर्ण रूपमा नष्ट हुने जोखिम बढेको छ । बाटो बिग्रेका कारण कतिपय गाडीचालक, मजदुर र व्यापारीसमेत बेपत्ता भएका छन् भने जनधनको ठुलो क्षति भएको छ,’ श्रेष्ठले भने, ‘अधिकांश आयातित सामानको बिमा नहुने भएकाले सामान नष्ट हुँदा व्यापारी पूर्ण रूपमा डुब्ने अवस्थामा पुगेका छन् ।’ बाढीले भन्सार क्षेत्र तहसनहस बनाएकाले भन्सार एजेन्ट, ढुवानी व्यवसायी र मजदुर सबैको रोजगारी संकटमा परेको उनको भनाइ छ । ‘एकातिर व्यापारमा ठुलो नोक्सान भएको छ भने अर्कातिर ढुवानी लागत बढ्ने भएकाले बजारमा सामानको मूल्य थप महँगो हुने निश्चित छ,’ उनले भने ।

रसुवा नाका ठप्प भएपछि सरकारले तातोपानी र कोरोला नाकालाई विकल्पका रूपमा अघि बढाउनुपर्ने व्यवसायीको माग छ । काठमाडौंबाट एक सय १४ किलोमिटर दूरीमा रहेको तातोपानी नाकाको भाडादर व्यावहारिक भए पनि त्यहाँको बाटोको स्थिति नाजुक रहेको उनले जानकारी दिए । उनले भने, ‘भर्खरै मर्मत गरिएको तातोपानी क्षेत्रमा पहिरो र ताल फुट्ने त्रास रहेकाले रसुवाकै जस्तो नियति दोहोरिने डर कायम छ ।’ तातोपानी भन्सारनजिकै हालसालै पुनः पहिरो गएका कारण उक्त नाका पनि दसैँअघि पूर्ण रूपले सञ्चालन हुन कठिन छ ।

रसुवा र तातोपानी नाका अवरुद्ध हुँदा मुस्ताङको कोरोला नाका नै सबैभन्दा भरपर्दो र सुरक्षित विकल्प देखिएको उनको भनाइ छ । उनले भने, ‘कोरोलामा सडक चौडा रहेको, पहिरोको जोखिम नभएको र पर्याप्त पार्किङ सुविधा भएकाले यो नाका भविष्यका लागि पनि उपयुक्त मानिएको छ । काठमाडौंबाट लामो दूरी (आउन–जान करिब ८०० किमि) पर्ने भएकाले भाडादर अलि महँगो हुने र जाडो याममा हिमपातको चुनौती रहे पनि चिनियाँ पक्षसमेत कोरोला नाका चलाउन सकारात्मक देखिएका छन्,’ उनले भने, ‘त्यसैले सरकारले नेपालतर्फको पूर्वाधार र भन्सार व्यवस्थापन तत्काल व्यवस्थापन गरे कोरोला नाकाबाट सामान आयात सहज बनाउनुपर्छ ।’

संघका प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठसहितको टोलीले बुधबार बिहान ८.४० सम्म राजस्व तिरेर पनि गन्तव्यमा नपुगी क्षति भएका मालवाहक गाडीहरूको तथ्यांक संकलन गरिरहेको छ । श्रेष्ठका समान बोकेका र खाली रहेका गरेर करिब पाँच सय गाडीमा क्षति पुगेको प्रारम्भिक अनुमान छ । चीनसँगको व्यापारमा रसुवा सबैभन्दा ठुलो भन्सार विन्दुका रूपमा स्थापित छ ।

चिनियाँ नाका खुलाउने विषयमा परराष्ट्र र भन्सार विभागबाट पहल हुनुपर्छ : वाणिज्यसचिव
उत्तरी छिमेकी मुलुक चीनतर्फका व्यापारिक नाका छिट्टै सञ्चालनमा ल्याउने विषयमा परराष्ट्र मन्त्रालय र भन्सार प्रशासनबाटै ठोस कूटनीतिक पहल हुनुपर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण शर्मा दुवाडीले जानकारी दिए ।

सचिव दुवाडीले नाका खोल्ने विषयमा भन्सारतर्फ वा माथिल्लो तहमा छलफल भइरहेको हुन सक्ने भए पनि वाणिज्य मन्त्रालयबाट अहिल्यै त्यसको औपचारिक प्रक्रिया सुरु भइनसकेको स्पष्ट पारे । ‘नाका खुलाउनेजस्ता संवेदनशील र द्विपक्षीय विषयमा सुरुमा परराष्ट्र मन्त्रालय र विभागीय मन्त्रीज्यूको तहबाटै छलफल अगाडि बढ्छ,’ सचिव दुवाडीले भने, ‘एकपटक मन्त्री र परराष्ट्रस्तरमा छलफल सुरु भइसकेपछि मात्र प्रशासनिक तथा प्राविधिक प्रक्रिया सहज रूपमा अघि बढ्छ ।’ नेपाल–चीन सीमावर्ती क्षेत्रमा वेला–वेलामा आउने प्राकृतिक विपत्ति तथा प्राविधिक कारणले नाका अवरुद्ध हुँदा व्यापारिक सामान रोकिएर व्यवसायीहरू मर्कामा पर्दै आएका छन् । सरकारले विपत् व्यवस्थापन र अत्यावश्यक वस्तुको आपूर्तिलाई प्राथमिकतामा राखेको सचिव दुवाडीले बताए । ‘हालको विषम परिस्थितिमा सरकारको सम्पूर्ण ध्यान उद्धार तथा पेट्रोलियम पदार्थ र अत्यावश्यकीय सामग्रीको सुलभ आपूर्ति व्यवस्थापनमै केन्द्रित रहेको छ,’ सचिव दुवाडीले भने ।

चीनसँग व्यापार हुने प्रमुख नाका रसुवागढी, त्यसपछि  कोरोला र तातोपानी 
चालू आर्थिक वर्ष ०८३/८४ को साउनमा रसुवा नाकाबाट पाँच अर्ब ६७ करोड ८७ लाख रुपैयाँबराबरको वस्तु आयात भएको थियो । साउन महिनाभरिको कुल आयातको ३.०३ प्रतिशत यो नाकाबाट भएको हो । यो नाकाबाट निर्यात भने ११ करोड ६१ लाख ९० हजार रुपैयाँबराबरको भएको थियो । तातोपानी नाकाबाट साउनमा १३ करोड ४६ लाखको आयात भएको थियो । मुस्ताङको कोरोला नाकाबाट ५८ करोड ८७ लाख रुपैयाँको आयात भएको थियो । यी दुई नाकाबाट निर्यात शून्य छ ।

नयाँ लत्ताकपडा ल्याउन मुस्किल
आसन्न दसैँ–तिहारका लागि व्यवसायीले चीनबाट मगाएका नयाँ लत्ताकपडा बोकेका कन्टेनर बाढीले बगाएको छ । जसकारण पुनः नयाँ कपडा मगाएर ल्याउन धेरै मुस्किल हुने न्युरोड व्यापार संघका अध्यक्ष हेमराज खरेलले जानकारी दिए । ‘करिब अढाई सय कन्टेनर बगाउँदा नयाँ लत्ताकपडा र फेन्सी आइटम बोकेका कन्टेनर पनि बगेका छन्,’ उनले भने, ‘तातोपानी नाका पनि अहिले अवरुद्ध छ । त्यसैले तत्कालै नयाँ कपडा मगाएर चाडपर्वका वेला उपलब्ध गराउन धेरै मुस्किल हुने अवस्था छ ।’ नेपाल भित्रिने लत्ताकपडामध्ये रसुवा नाकाबाट मात्रै ५० प्रतिशत आयात हुने गरेको उनले बताए । ‘थप ५० प्रतिशत तातोपानी र कोरोला नाकाले धानेको छ, तर अहिले तातोपानी पनि अवरुद्ध हुँदा कोरोला मात्रै विकल्प भयो,’ उनले भने ।

कोरोलाबाट ल्याउँदा लागत महँगो पर्ने र समय पनि बढी लाग्ने उनको भनाइ छ । यसपटक दसैँ–तिहारमा नयाँ कपडा कमै आउने र आइहाले पनि मूल्य बढी पर्ने उनको बुझाइ छ । ‘चिनियाँ बजारमै खरिद लागत बढेको छ । अर्कातिर, कोरोलाबाट ल्याउनुपर्यो भने लागत झन् बढ्छ,’ उनले भने । हालसालै तातोपानी भन्सारनजिकै पहिरो गएका कारण उक्त नाका हुँदै तत्कालै सामान ल्याउन कठिन हुने जानकारी प्राप्त भएको खरेलले बताए ।

दुई अर्बबराबरको फलफूल बिग्रिने जोखिम
फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँका अनुसार रसुवा भन्सार यार्डमा आइपुगेका केही फलफूल बाढीले बगाएको छ । त्यस्तै, ठुलो मात्रामा फलफूल बोकेका कन्टेनर चिनियाँ भन्सार कार्यालयबाट ३५ किलोमिटर उत्तरतर्फ बाटोमै रोकिएर बसेको उनले जानकारी दिए । ‘बाढीमा बगेका र बाटोमा रोकिएकासहित गरेर करिब दुई अर्ब मूल्यबराबरको फलफूल क्षति हुने अवस्थामा छ,’ उनले भने, ‘नाका तत्काल सुचारु नभए ठुलो क्षति पुग्छ ।’ दसैँ–तिहारसम्मका लागि मगाएको फलफूल बगेको र बाटोमा अलपत्र परेको उनले सुनाए । चिनियाँ पक्षले भन्सार चाँडै खुलाउने जानकारी प्राप्त भए पनि नेपालपट्टि भने सडक खुलाउन समय लाग्ने देखिएकाले फलफूल नष्ट हुने उच्च जोखिम छ । चाडपर्वको माग धान्न जहाजबाटै कोलकाता बन्दरगाह हुँदै चीनबाट फलफूल आयात गर्ने विकल्प पनि रहेको उनले बताए ।

सुझावित समाचार