बाढी प्रभावित क्षेत्रमा ४० हजार लिटर हवाई इन्धन र एक लाख ३४ हजार लिटर पेट्रोल–डिजेल वितरण

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडले रसुवा बाढी प्रभावित क्षेत्रको उद्धार र राहत सामग्री वितरणलाई सहज बनाउन ४० हजार ८ सय ४० लिटर हवाई इन्धन, ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल तथा तीन सय ८२ थान ग्यास सिलिन्डर वितरण गरेको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री वितरणका लागि खटिने हेलिकोप्टरलाई हवाई इन्धन उपलब्ध गराउन आयल निगमले नेपाल आर्मीको  त्रिशूली ब्यारेकमै रिफ्युलर उपलब्ध गराइरहेको छ। काठमाडौंबाट डिस्पेन्चरमा दिनहुँ तेल लगेर हेलिकोप्टरलाई त्रिशूली ब्यारेकमै हवाई इन्धन उपलब्ध गराइरहेको निगमले जनाएको छ ।

बुधबार १२ हजार लिटर र बिहीबार, शुक्रबार तथा शनिबार समान ९–९ हजार लिटर हवाई इन्धन त्रिशूली ब्यारेकमै उपलब्ध गराएको निगमले जनाएको छ। त्यस्तै, काठमाडौं विमानस्थलबाट हेलिकोप्टरमा थप एक हजार आठ सय ४० लिटर हवाई इन्धन उपलब्ध गराएको पनि निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
त्यसैगरी, बाढी प्रभावित नुवाकोटका पेट्रोलपम्पमा डिजेल र पेट्रोल गरेर कुल एक लाख ३४ हजार लिटर वितरण भएको निगमले जनाएको छ ।

बाटोको असुविधा भएपछि निगमले डिस्पेन्चरमा राखेर ६ हजार लिटर पेट्रोल आफैँ पनि ढुवानी गरेको थियो । ग्यास उद्योगीको समन्वयमा नुवाकोटमा २ सय ३२ थान नेपाल ग्यास वितरण भएको छ भने एलपी ग्यास उद्योग संघ नेपालका तर्फबाट रसुवा तथा नुवाकोटका प्रभावित क्षेत्रमा पुग्ने गरी थप १ सय ५० थान ग्यास सिलिन्डरसमेत सहयोगबापत उपलब्ध गराएको निगमले जनाएको छ।

सुझावित समाचार