सरकारले भारत र चीनसँग मुख्य रूपमा वस्तुगत सहयोगका लागि समन्वय गरिरहेको छ । चीनसँग नगद सहयोगका लागिसमेत अनुरोध गरिएको लम्सालले बताए । ‘चीनलाई नगद सहयोग पनि गरिदिन मन्त्रीज्यूले राजदूतलाई भन्नुभएको छ । नगद सहयोगका लागि हामीले हाम्रा खाताका विवरण पठाइसकेका छौँ । तर, अहिलेसम्म औपचारिक पुष्टि भएको छैन,’ उनले भने ।
चीनबाट त्रिपाल, कम्बललगायत विभिन्न राहत सामग्री उपलब्ध गराउने प्रतिबद्धता आएको छ । भारतबाट पनि कम्बललगायत राहत सामग्री आइरहेका छन् । यस्ता वस्तुगत सहयोगको आर्थिक मूल्य भने औपचारिक रूपमा तोकिनेछैन ।
विपत्का कारण क्षतिग्रस्त सडक तथा पुल सञ्चालनमा ल्याउन पनि छिमेकी मुलुकसँग सहयोग मागिएको छ । भारतले तीनवटा बेलिब्रिज उपलब्ध गराउने बताएको छ । चीनसँग भने ७० मिटरभन्दा लामो स्पानका ३० वटा बेलिब्रिज उपलब्ध गराउन औपचारिक अनुरोध गरिएको छ ।