शनिबार बिहानसम्म नेपाली सेनाद्वारा २ हजार ४ सय ६५ जनाको उद्धार

२ हजार २ सय ६५ जनाकाे हेलिकाेप्टरबाट उद्धार

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली सेनाले रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धार कार्य जारी राखेको छ । हेलिकोप्टर र स्थलबाट शनिबार बिहान ०८:०० बजेसम्म २ हजार ४ सय ६५ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएकाे छ । जसमा स्वदेशी सहित विदशी नागरिक पनि छन् । सेनाले अहिले पनि हवाई  तथा स्थलमार्गबाट उद्धार कार्य जारी राखेको छ।

टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ इलाकाहरुबाट नेपाली सेनाकाे हवाई साधनमार्फत १६३ जना विदेशी नागरिकको उद्धार गरिएको छ । जसमा ११३ भारतीय, ४ जर्मन, २६ चिनियाँ, २ अमेरिकन, २ इटालियन, १ ओमान र जना १५ कोरियन नागरिक रहेका छन् ।  यस्तै, हाइड्रोपावरको टनेलमा फसेका १९१ जना सहित कुल २ हजार २ सय ६५ जना मानिसलाई हवाई साधनबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । 

यसैगरी नेपाली सेनाले २०० जनाको स्थल उद्धार गरेको छ । सेनाले अहिलेसम्म हेलिकोप्टर र स्थलबाट गरी जम्मा २ हजार ४ सय ६५ जनाको उद्धार गरेको जनाएको छ। नेपाली सेनाले स्थापना गरेको आपत्कालीन उपचार केन्द्रहरू त्रिशूली र धुन्चेमा गरी हालसम्म १ हजार ७०६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिसकेको छ। 

प्रभावित जिल्लाहरूमा नेपाली सेनाको करिब ६ हजार ७ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य भइरहेको छ। 

सुझावित समाचार