ताप्लेजुङमा फुटबलसँगै मौलिक संस्कृति र जातीय पहिचानको रंगसहित चौथो संस्करणको ताप्लेजुङ गोल्डकप प्रतियोगिता सुरु भएको छ । च्याब्रुङ, धाननाच, लाखे, स्याब्रु, घाटु र डोकेनाचलगायत सांस्कृतिक प्रस्तुतिसहित गोल्डकप शुक्रबारबाट सुरु भयो ।
प्रतियोगिताको उद्घाटन खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङले आयोजक ताप्लेजुङ ११ लाई २–१ ले हराएको छ । जितसँगै जर्जियन सेमिफाइनलमा प्रवेश गरेको छ । आठ टोली सहभागी गोल्डकप १९ भदौसम्म चल्नेछ ।
प्रतियोगिताको उद्घाटनअघि आयोजित सांस्कृतिक कार्यक्रममा विद्यार्थीले प्रस्तुति दिएका थिए । प्रतियोगिताको विजेताले सात लाख दुई हजार र उपविजेताले तीन लाख ५२ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडी र विधागत पुरस्कारको समेत व्यवस्था भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । टिकट काटेर खेल हेर्ने दर्शकमध्ये एक भाग्यशालीलाई स्कुटर उपहार दिइने आयोजक समितिका अध्यक्ष सागर मादेनले बताए ।