रसुवा र नुवाकोटसहितका जिल्लामा विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले १० लाख आर्थिक सहयोग गरेको छ। शुक्रबार साँझ अस्पतालमा एक कार्यक्रम आयोजना गरी अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठुलो धनजनको क्षति पुगेकाले उक्त प्राकृतिक विपतबाट प्रभावित क्षेत्रका नागरिकहरूका लागि सहयोग प्रदान गरेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीले पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तमार्फत १० लाख रुपैयाँ कोषमा जम्मा गरेका हुन्।
बाढीमा परी अकालमै ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै अस्पताल प्रमुख अन्सारीले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे। अध्यक्ष अन्सारीका अनुसार विपतकाे समयमा प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोगका लागि अरूलाई पनि उत्प्रेरणा होस् भन्ने हेतुले औपचारिक रूपमा पैसा जम्मा गरिएको हो।