भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १४२ जना सम्पर्कविहीन रहेको पाइएको छ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन शाखाका अनुसार बिहीबार साँझसम्म प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरिएको विवरणमा १४२ जना सम्पर्कबाहिर रहेको पाइएको हो।
सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रुपन्देहीका २५ जना छन्। त्यस्तै बाँकेका २१, दाङका १५, रुकुम पूर्वका १५, रोल्पाका १४, अर्घाखाँचीका ९, पाल्पाका ९, प्युठानका ९, बर्दियाका ८, गुल्मीका ६, नवलपरासी पश्चिमका ६ र कपिलवस्तुका ४ जना सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सम्पर्कविहीन हुने अधिकांश व्यक्ति विभिन्न जलविद्युत आयोजना, निर्माण तथा अन्य कामका लागि रसुवा लगायतका प्रभावित क्षेत्रमा पुगेका थिए। केही सरकारी सेवामा कार्यरत व्यक्ति तथा घुम्न गएका व्यक्तिहरू पनि सम्पर्कबाहिर रहेको विवरण प्राप्त भएको छ।
विपद् व्यवस्थापन शाखाले सम्पर्कमा आएका व्यक्तिहरूको विवरण नियमित रूपमा अद्यावधिक गरिरहेको जनाएको छ। प्राप्त सूचनाका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको अवस्था यकिन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, खोजी तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिरहेको जनाएको छ।