विपतमा सहायताका लागि कर्मचारीको अधिकतम १० दिनसम्मको तलब काटिने

संघीय कर्मचारीबाट उद्धार कोषमा ३६ करोड योगदान पुग्ने आकलन

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

रसुवा विपतमा राहत तथा पुनर्स्थापनाका लागि कर्मचारीको तलबबाट अधिकतम १० दिनको तलब काटिने भएको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सचिव बैठकबाट यससम्बन्धमा निर्णय भएको छ । 

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले रसुवा विपतबाट भएको जनधनको क्षतिपश्चात् राहत तथा पुनर्स्थापना कार्यमा राष्ट्रसेवकहरूको तर्फबाट योगदान गर्न तलब काट्ने निर्णय गरेको हो । निर्णयअनुसार श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको २ दिनको, राजपत्र अनंकित (खरिदार, नासु) वा सोसरहका कर्मचारीबाट ५ दिनको,  राजपत्रांकित तृतीय (शाखा अधिकृत) र द्वितीय श्रेणी (उपसचवि) वा सोसरहका कर्मचारीबाट ७ दिनको तलब काटिनेछ । त्यस्तै, राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र विशिष्ट श्रेणी (सचिव) सरहका कर्मचारीबाट १० दिनबराबरको तलब पारिश्रमिक रकम काट्ने निर्णय भएको छ । 

यो रकम चालू भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको  खातामा जम्मा गर्ने व्यवस्था अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले मिलाउने निर्णय बैठकबाट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यो निर्णय संघीय कर्मचारीका हकमा हो । संघीय कोषबाट तलब-सुविधा लिनेका हकमा यस्तो निर्णय गरिएको हो । 

यसरी तलब कट्टा गर्दा संघीय सरकारका कर्मचारीबाट उद्धार कोषमा करिब ३६ करोड रुपैयाँ योगदान पुग्न जाने आकलन गरिएको छ । प्रदेश सरकार  तथा स्थानीय तह र सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत यसैबमोजिमको तलब-पारश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्न आह्वान गर्ने निर्णयसमेत भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले बताए ।

सचिव बैठकका निर्णयहरू-

सुझावित समाचार