भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूलीबजार क्षेत्रमा विद्युत् सेवा पुनः नियमित भएको छ।
नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत बालाजु–त्रिशूली र चपली–देवीघाट ६६ केभी प्रसारणलाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो।
बाढीका कारण नियमित विद्युत् आपूर्ति प्रणालीमा क्षति पुगेपछि प्राधिकरणले उपलब्ध प्रसारण संरचनाको वैकल्पिक प्रयोग गरी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनर्स्थापना गरेको जनाएको छ। वैकल्पिक व्यवस्थापछि बट्टार, त्रिशूली बजारलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति नियमित भएको छ।
प्राधिकरणका अनुसार बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनर्स्थापनाको काम तीव्र गतिमा भइरहेको छ। प्रभावित सबै क्षेत्रमा विद्युत् सेवा नियमित बनाउन आवश्यक काम जारी रहेको प्राधिकरणले जनाएको छ।