विपत् स्वास्थ्य प्रतिकार्य प्रभावकारी बनाउन मन्त्रालयद्वारा फोकल पर्सन तोकिए

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

विपतकाे समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न विषयगत क्षेत्रका लागि फोकल पर्सन तोकेको छ।

स्वास्थ्य आपतकालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र प्रमुख डा. हेमन्त चन्द्र ओझालाई जिम्मेवारी दिइएको छ। आपतकालीन मेडिकल टोली तथा मानव स्रोत परिचालनका लागि डा. रोशन न्यौपानेलाई तोकिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, प्रदेशस्तरीय समन्वयका लागि स्वास्थ्य सेवा विभागबाट डा. फणिन्द्रप्रसाद बराल र मन्त्रालयबाट डा. समीरकुमार अधिकारीलाई जिम्मेवारी दिइएको छ। घटनास्थलमा संघीय टोली परिचालनका लागि रसुवामा डा. प्रकाश ज्ञवाली र शंकर कँडेल तथा नुवाकोटमा डा. प्रशान्त नापित र प्रवीण कार्कीलाई फोकल पर्सन तोकिएको छ।

सम्भावित महामारीको जोखिम न्यूनीकरण, पूर्वतयारी, निगरानी तथा आवश्यक प्रतिकार्यका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अमृत पोखरेललाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ।

‘विपत् स्वास्थ्य सहयोग समन्वय’ प्रणाली सञ्चालन
विपतका समयमा सर्वसाधारण, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबिच आवश्यक सहयोग तथा समन्वय सहज बनाउन मन्त्रालयले ‘विपत् स्वास्थ्य सहयोग समन्वय’ प्रणालीसमेत सञ्चालनमा ल्याएको छ।

प्रणालीमार्फत उपचार, औषधि वा अन्य स्वास्थ्य सहयोगका लागि अनुरोध गर्न सकिनेछ। त्यसैगरी, स्वास्थ्यकर्मीले स्वयंसेवाका लागि आफ्नो विवरण दर्ता गर्न तथा स्वास्थ्य संस्थाले मेडिकल टिम, औषधि वा उपकरण सहयोगको प्रस्ताव राख्न सक्ने व्यवस्था गरिएको छ।

सुझावित समाचार