रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री संकलन गर्न सरकारले तीनवटा स्थान तोकेको छ।
विदेशबाट हवाई माध्यममार्फत ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। सरकारले आवश्यकताका आधारमा ती सामग्री बाढी प्रभावित क्षेत्रमा वितरण गर्ने जनाएको छ।
त्यसैगरी, स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरिनेछ। संकलित सामग्री आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पठाइनेछ।
राहत सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाले सरकारले तोकेका उक्त तीन स्थानमध्ये आफूलाई सहज हुने स्थानमा सामग्री पुर्याउन सक्नेछन्।
राहत सामग्री बुझाउने स्थान र सम्पर्क व्यक्ति :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय आपतकालीन गोदामघर : श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) — ९८४१८७९२२२
नेपाली सेनाको मैथेली ब्यारेक, बट्टार, नुवाकोट : आविष्कार (नेपाली सेना) — ९८५१२३४३२४
बैरेनी ब्यारेक, धादिङ: दिलीप घले — ९८५११५४२२६
यसबाहेक इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्नेछन्।
आर्थिक सहयोग गर्न चाहनेहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा योगदान गर्न सक्ने सरकारले जनाएको छ।