भोटेकोशी बाढीमा जाजरकोटका चारजना सम्पर्कविहीन, तीनजना उद्धारको पर्खाइमा

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि जाजरकोटका चारजना सम्पर्कविहीन भएका छन्। तीनजना चिनियाँ क्षेत्रमा रहेको क्याम्पमा उद्धारको पर्खाइमा रहेका छन्। प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढाका अनुसार बिहीबार बिहानसम्म प्राप्त जानकारीअनुसार शिवालय गाउँपालिका– २ का इन्जिनियर महेन्द्रविक्रम शाही, भेरी नगरपालिका– ९ का डिलबहादुर विक, भेरी नगरपालिका– ३ का रतन रोकाया र भेरी नगरपालिका– ४ की विनिता शाही सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीनमध्ये महेन्द्रविक्रम शाही भोटेकोशी हाइड्रोपावरमा इन्जिनियर पदमा कार्यरत थिए। डिलबहादुर रसुवामा रहेको चर्चमा बस्दै आएका थिए। रतन  रसुवा क्षेत्रमा पर्यटकको गाइडका रूपमा काम गर्दै आएका थिए। भेरी– ४ की विनिता शाही स्वास्थ्यकर्मीका रूपमा कार्यरत रहेकी थिइन्। उनी केही समयअघि रसुवा पुगेकी थिइन्। बाढीपछि आफन्तहरूले लगातार फोन तथा अन्य माध्यमबाट सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन नसकेपछि परिवारमा झनै ठुलो त्रास पैदा भएको छ।

‘परिवारका सदस्य कहाँ हुनुहुन्छ भन्ने नै थाहा छैन, फोन लाग्दैन। सकुशल हुनुहुन्छ कि भन्ने आशामै बसिरहेका छौँ,’ सम्पर्कविहीनका एक आफन्तले भावुक हुँदै भने। बाढीको खबरसँगै आफन्तहरू रातभर फोनको घन्टी बज्ने प्रतीक्षामा रहे पनि कुनै खबर नआएपछि उनीहरूको पीडा थप गहिरिएको छ।

भोटेकोशी चीनतर्फको नं. ३ क्याम्पमा जाजरकोटका तीनजना सम्पर्कमा रहेका छन्। शिवालय गाउँपालिका– ८ का मदन बुढा, प्रकाश बुढा र डिलबहादुर कठायतले आफूहरू सुरक्षित रहेको जानकारी गराए पनि तत्काल उद्धारको पर्खाइमा रहेको बताइएको छ। उनीहरू रोजगारीको खोजीमा उक्त क्षेत्रमा पुगेका थिए। क्याम्पमा रहेका उनीहरू सम्पर्कमा रहे पनि बाढीका कारण बाहिर निस्कने अवस्था नरहेको र उद्धारको प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको बताइएको छ। 

प्रतिनिधिसभा सदस्य बुढाले सम्पर्कमा रहेका तीनैजनाको उद्धारका लागि सम्बन्धित पक्षसँग आवश्यक समन्वय भइरहेको बताए। आफू बिहीबार बिहान घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिँदै उनले सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि पनि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए।

भोटेकोशीमा आएको बाढीले रसुवा क्षेत्रमा ठुलो क्षति पुर्याएपछि त्यहाँ रहेका नेपाली कामदार तथा अन्य नागरिकको अवस्थाबारे परिवारहरू चिन्तित बनेका छन्।

सुझावित समाचार