प्रधानमन्त्री बालेन्द्र शाह आज बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि भ्रमणमा सहभागी छन्।
हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदीतटीय क्षेत्रमा ठुलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय छन् । बाढीपछि उनले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतमा खटिएका मातहतका निकायलाई आवश्यक निर्देशन दिनुका साथै कार्यसम्पादनमा सहजीकरण गर्दै आएका छन् ।
समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको निरीक्षण गर्ने जनाइएकाे छ । भ्रमणका क्रममा उनकाे टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग तत्काल राहत, पुनर्स्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ।
प्रधानमन्त्रीको स्थलगत निरीक्षणपछि बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि आवश्यक थप कदमबारे निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ।