चिनियाँ भूमिबाट आएको बाढीले बुधबार बिहान रसुवाबाट प्रवेश गर्दै सडकतर्फ ठुलो क्षति पुर्याएको छ । तिब्बतमा हिमचट्टान पहिरो गएपछि ल्हेन्दे खोला हुँदै त्रिशूलीसम्म आएको विनाशकारी बाढीले पृथ्वी राजमार्ग अवरुद्ध छ भने गल्छीदेखि रसुवासम्मको सडक ध्वस्त भएको छ ।
बाढीले रसुवा नाकादेखि मलेखुसम्मका करिब सबै पक्की पुल बगाएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले रुसुवा नाकादेखि मलेखुसम्म भएका करिब सबै पक्की पुल बगेको बताए । त्यसमा न्यूनतम ३२ वटा पक्की पुल बगाएको पुष्टी भइसकेको उनको भनाइ छ । योबाहेक ससाना खोलामा भएका मोटरेबल पुल पनि बगाएको उनको भनाइ छ ।
‘रसुवा नाकादेखि मलेखुसम्मका सबै पुल बगाएको छ । त्यसमा ३२ पक्की पुल बगाएको पुष्टी भइसकेको छ । यो संख्या अझै बढ्ने देखिन्छ । यही बाढीका कारण सहायक खोलामा भएका ससाना पुल पनि बगाएका छन्, ’ उनले भने, ‘तर, हामी अझै क्षतिग्रस्त स्थानमा पुग्न सकेका छैनौँ । यो संख्या अझै बढ्न सक्छ ।’
विभागले सडक तथा पुलमा २० अर्ब रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । यद्यपि, यो आँकडा अझै बढ्न सक्ने विभागका प्रवक्ता न्यौपानले बताउँछन् । ‘हामीले प्रारम्भिक रूपमा सडक पूर्वाधारमा २० अर्ब रुपैयाँको क्षति पुगेको अनुमान गरेका छौँ । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यो नै अन्तिम तथ्यांक होइन ।’
पृथ्वी राजमार्ग अवरुद्ध
बाढीले पश्चिम नेपालबाट काठमाडौं आउजाउ गर्न प्रयोग हुने पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । रसुवा क्षेत्रमा बाढी आएसँगै चितवन–मुग्लिङ–काठमाडौं सडक यातायात वन्द गरिएको थियो । पछि बाढी आएपछि पृथ्वी राजमार्गको धादिङस्थित बैरेनी–गल्छी सडक क्षतिग्रस्त भएको छ । बुधबार साँझ ८ बजेसम्म अवरुद्ध उक्त सडक खुलेको छैन । बुधबार रातभरमा पृथ्वी राजमार्ग खुलाउने गरी काम भइरहेको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बताए । बाढीले त्रिशूली नदीकिनारमा रहेको ८२ किमि गल्छी–स्याफ्रुबेँसी–रसुवा सडक ध्वस्त भएको छ । पृथ्वी राजमार्गबाट सुरु भएर यो बाटो चिनियाँ नाकासँग सोझै जोडिन्छ । चीनसँगको व्यापारमा यो सडक निकै महत्वपूर्ण मानिन्छ । तर, त्रिशूली नदीमा आएको उच्च बहावसहितको बाढीले सडकलाई क्षतिग्रस्त बनाएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बताए ।
सरकारसँग सातवटा मात्रै बेलिब्रिज
अहिले सडक विभागसँग सातवटा मात्रै बेलिब्रिक स्टकमा छ । कुनै ठाउँमा पक्की पुल बगाएमा औसत १५ दिनमै बेलिब्रिज जडान गरेर यातायात सेवा सञ्चालन गर्न सकिन्छ । तर, बाढीले ३० भन्दा बढी पुल बगाउँदा विभागसँग सातवटा मात्रै स्टकमा छ । त्यसमा पनि ५० मिटरसम्मका मात्रै बेलिब्रिज छन् । अहिले परिस्थितिमा त्यो निकै कम भएको सडक विभागका अधिकारीहरू बताउँछन् ।
यी हुन् बाढीले बगाएका पुल
रसुवा : मितेरी, भोटेकोशी (चिलिमे), चिलेमे खोला, स्याफ्रुबेँसी, त्रिशूली नदी, भोटेकोशी नदी, खाल्टे, बेत्रावती ।
नुवाकोट : त्रिशूली नदी (तुप्चे), त्रिशूली नदी पुल (त्रिशूली बजार), त्रिशूली नदी नयाँ (त्रिशूली बजार), त्रिशूली नदी (सिमचौर), सस्पेन्स बिज्र (देवीघाट), त्रिशूली नदी (देवीघाटनजिक), तान्डी खोला (देवीघाट), तान्डी खोला नयाँ (देवीघाट), त्रिशूली नदी (श्रीखाली), त्रिशूली नदी (बुद्धसिंहघाट), त्रिशूली नदी (रातमाटे), त्रिशूली नदी (केउरिनी) ।
धादिङ : त्रिशूली नदी (नयाँ गल्छी), त्रिशूली नदी (जरे बगैँचा), त्रिशूली नदी (घाटबेँसी), त्रिशूली नदी (मलेखु, फुर्केखोला) ।