बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

एलडिसीको निरीक्षणमा जाँदै मन्त्री श्रेष्ठ

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

विद्युत् पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सि‌ँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ । 

बाढीबाट १२ वटा जलविद्युत् आयोजनाहरूमा क्षति पुगी ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमातहतको संयन्त्र परिचालन गरी रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्थापन गरेका हुन् । 

ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा आज पाँच सय सोलार पावर बैंक पठाउने तयारी गरेको छ । प्रभावित क्षेत्रमा पठाउनका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्लाई पाँच सयवटा सोलार पावर बैंक हस्तान्तरण गर्दै छ । 

ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले भने, ‘रसुवामा हाम्रो सबस्टेसन उडेकाले तत्कालै विद्युत् नियमित गर्न सकिने अवस्था छैन । त्यसैले वैकल्पिक रूपमा बत्ती बाल्न मिल्ने र मोबाइल चार्ज मिल्ने गरी सोलार पावर बैंक विपत् राष्ट्रिय परिषदमा पठाउँदै छौँ । परिषदमार्फत प्रभावित क्षेत्रमा पठाउने तयारी छ,’ उनले भने । 

मन्त्रालयका अनुसार त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसनमा पूर्ण रूपमा क्षति पुगेको छ भने ६ वटा प्रसारणलाइन अवरुद्ध छन् ।जलविद्युत् आयोजना र प्रसारणलाइनमा क्षति पुगेर देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत अर्थात् ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएपछि ऊर्जामन्त्री श्रेष्ठले आपूर्ति प्रणालीमा परेको चापको पनि जानकारी लिँदै छन् ।

यसका लागि आज मन्त्री श्रेष्ठले स्युचारटारस्थित प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर एलडिसी)को निरीक्षण गर्दै छन् । ‘बाढीपछिको विद्युत् आपूर्तिको अवस्था के छ, बाढीले समग्र देशको बत्तीमा कहाँ–कहाँ असर पर्याे, कहाँ के अवस्था छ भनेर जानकारी लिन मन्त्रीज्यू आज स्युटाचारस्थित एलडिसी जाँदै हुनुहुन्छ,’ महर्जनले भने ।

यसबाहेक ऊर्जा मन्त्रालयले सिन्धुपाल्चोकको समुद्रटारस्थित चौघडा सबस्टेसन र सञ्चालनको प्रयास गरिरहेको छ । गजुरीदेख गल्छीसम्मका क्षेत्रहरूमा धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति नियमित गर्ने प्रयास भइरहेको छ । सम्भव भएका अन्य क्षेत्रमा पेट्रोलिङ गर्दै मर्मत गरेर लाइन नियमित गर्ने प्रयास भइरहेको छ । अवरुद्ध भएको विद्युतका कारण प्रणालीलाई नियमित राख्न विद्युत् प्रणाली सञ्चालन विभागलाई निर्देशन गरिएको छ । यसैगरी आवश्यक परेमा भीमफेदीमा रहेको जेनेरेटर पठाउन तयारी अवस्थामा राखिएको छ ।
 

सुझावित समाचार