- निर्माणाधीन अवस्थाका ४७० मेगावाटका १५ आयोजना पनि प्रभावित
बुधबार बिहान तिब्बत हुँदै रसुवा प्रवेश गरेको बाढीले भोटेकोशी र त्रिशूली नदी किनारामा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् परियोजना क्षतिग्रस्त बनेका छन् । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार ४३१ मेगावाटका १२ विद्युत् आयोजना बाढीले क्षतिग्रस्त बनाएको छ ।
त्यसमा १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सालासुंगी (सान्जेन), १४.८ मेगावाटको माथिल्लो सान्जेन ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे र २० मेगावाटको लाङटाङ जलविद्युत् आयोजना क्षतिग्रस्त भई बन्द भएका छन् ।
यस्तै, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए, १४.८ मेगावाटको माथिल्लो मैलुङ, पाँच मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र क्षतिग्रस्त भएका छन् । नुवाकोटस्थित नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाटको सोलार आयोजना पनि क्षतिग्रस्त भएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले सञ्चालित अवस्थाका ४३१ मेगावाटका १२ आयोजना बाढीबाट क्षतिग्रस्त हुँदा निर्यातमा असर गर्ने बताए । अधिकांश परियोजनाको बाँध तथा पावर हाउस बगाएको छ ।
प्राधिकरणका अनुसार निर्माणधीन अवस्थामा रहेको ४७० मेगावाटका १५ आयोजना बाढीले क्षतिग्रस्त भएका छन् । त्यसमा २१६ मेगावाटको माथिल्लो त्रिशूली, १२० मेगावाटको रसुवा भोटेकोशी, ६.२४ मेगावाटको अप्पर मेलुङ, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी, १५.६ मेगावाटको मध्य त्रिशूलीलगायतका परियोजना छन् । बाढीले प्रसारण पूर्वाधार पनि क्षतिग्रस्त भएको छ । प्राधिकरणका अनुसार त्रिशूलीस्थित २२० केभीको ३बी हब सबस्टेसन पूर्ण रूपमा क्षति भएको छ । चिलिमे २२० केभी हब टावर अवरुद्ध भएका कारण बन्द गरिएको छ ।
यसैगरी समुद्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे हब–त्रिशूली ३बी हब–मातातीर्थ २२० केभी र त्रिशूली–बालाजु ६६ केभी प्रसारणलाइन पनि अवरुद्ध छ ।
९ बैंकका २४ कर्मचारी सम्पर्कबाहिर
बुधबारको बाढीले स्याफ्रुबेँसी, नौमुरे र टिमुरेमा रहेका विभिन्न नौवटा बैंकका शाखा बगाएको छ । बाढीका कारण २४ जना कर्मचारी सम्पर्कबाहिर रहेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले बताए । बाढीले नबिल, ग्लोबल आइएमई, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, हिमालयन, माछापुच्छ्रे र लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंकका शाखा बगाएको हो । ‘सबै बगाएको छ, केही पनि छैन, खण्डहर भएको छ,’ उनले भने, ‘सुरुमा ३० जनाहाराहारी सम्पर्कबाहिर हुनुहुन्थ्यो, अहिले ६ जनाजति सम्पर्कमा आइसक्नुभयो, २४ जना सम्पर्कबाहिर हुनुहुन्छ, आशा छ भोलिसम्म सम्पर्कमा आउनुहुनेछ ।’ बुधबार उद्धार र राहतमा मात्रै लागिएको भन्दै अध्यक्ष कोइरालाले बिहीबारदेखि क्षतिका अन्य विवरण संकलन तथा मूल्यांकन गरिने जानकारी दिए ।
प्राधिकरणका आयोजनाका १९६ जना सम्पर्कबाहिर
विद्युत् प्राधिकरणका आयोजनाका मात्रै १९६ जना सम्पर्कविहीन छन् । निर्माणाधीन त्रिशूली ३ बी जलविद्युत्का २१ कर्मचारीहरू सम्पर्कमा छैनन् । यसैगरी, चिलिमेको पावर प्लान्टका ६ र आवास क्षेत्रका एक कर्मचारी पनि सम्पर्कमा आएका छैनन् । चिलिमे जलविद्युत् कम्पनीबाट त्रिशूली ३ बीमा कार्यरत ११ जना, रसुवागढी जलविद्युत्का ९२ जना, त्रिशूली–३ ‘ए’ को पावरहाउसका ४५ जना, त्रिशूली र देवीघाट जलविद्युत्मा कार्यरत एक–एकजना, चिलिमेको स्विचयार्डमा काम गर्ने एक र सोही वितरण केन्द्रको एक मिटर रिडर पनि सम्पर्कमा छैनन् । यस्तै, त्रिशूली २२० केभी ३ बी हब सबस्टेसनमा ठेकेदारका १६ जना कामदार पनि सम्पर्कविहीन रहेका छन् ।
निजी क्षेत्रबाट अघि बढाइएको आयोजनाका कामदार पनि सम्पर्कविहीन छन् । २१६ मेगावाटको अपर त्रिशूली १ मा आठ कोरियन नागरिक र १० जना कर्मचारी सम्पर्कविहीन छन् । यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाका २५ जना कर्मचारी र ३५ जना कामदार सम्पर्कविहीन छन् ।
रसुवा पूर्ण रूपमा अन्धकार
प्राधिकरणका अनुसार रसुवामा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवा बाढीले सबैभन्दा धेरै क्षतिग्रस्त भएको जिल्ला हो । नुवाकोट, धादिङ र गोरखामा भने आंशिक रूपमा विद्युत् सेवा अवरुद्ध छ । धादिङ जहरेमा ३३ केभीको सबस्टेसन पाँच फिट अग्लो लेदो जमेका कारण अवरुद्ध छ । यसैगरी, विभिन्न ठाउँमा पोल तथा ट्रान्सफर्मर पनि क्षतिग्रस्त भएका छन् । प्राधिकरणका प्रवक्ता राजन ढकालले गोरखा, धादिङ र नुवाकोटमा सकेसम्म चाँडै विद्युत् सेवा सुरु हुने बताए । तर, रसुवाको हकमा भने समय लाग्ने बताइएको छ । धादिङको जहरे ३३ केभी सबस्टेसनको लेदो हटाउने काम जारी रहेको प्राधिकरणले भनेको छ ।
यसरी हुँदै छ विद्युत् पुनर्स्थापनाको प्रयास
प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्राधिकरणका प्रवक्ता ढकालले बताए । वैकल्पिक माध्यमबाट विद्युत् प्रणाली सञ्चालन गर्न सकिने स्थान पहिचान गरी आंशिक रूपमा विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको उनको भनाइ छ । प्रभावित क्षेत्रमा तत्काल पाँच सय सोलार प्यानल लैजाने तयारी छ ।
सिन्धुपाल्चोकको समुद्रटार क्षेत्रमा प्रणाली सञ्चालन गरी चौघडा सबस्टेसन चालू गर्ने तयारी भइरहेको प्राधिकरणको भनाइ छ । गजुरीदेखि गल्छीसम्म धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको प्रवक्ता ढकालले बताए । सम्भव भएका स्थानमा पेट्रोलिङ, मर्मत तथा प्रसारणलाइन पुनः सञ्चालनको काम भइरहेको उनको भनाइ छ । बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठुलो क्षति पुगेपछि विद्युत् आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै प्राधिकरणले प्रभावित क्षेत्रमा इन्भर्टर, अस्थायी पावर, जेनेरेटर लैजाने तयारी गरिरहेको छ ।