सत्तारूढ दल रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको सचिवालयको आकस्मिक बैठकले विपत् व्यवस्थापनका लागि सरकारी कोषमा ५० लाख आर्थिक सहयोग गर्ने निर्णय बैठकले गरेको छ । बैठकपछि महामन्त्री विपिन आचार्यले राज्यको संरचनाबाट राहत उपलब्ध गराउने व्यवस्था गर्ने जानकारी दिए । ‘राहत तथा उद्धारमा सहयोगी मन देखाउन सम्पूर्ण नागरिकलाई अपिल गर्दै सबै सहयोग, भौतिक अथवा आर्थिक सहयोग जे हो राज्यको एकद्वार प्रणालीबाट मात्रै गर्ने व्यवस्था मिलाउने । आफैँ–आफैँ गर्ने होइन, पार्टीको संरचनाबाट पनि होइन,’ उनले भने । बैठकले विपत् व्यवस्थापनमा सरकारले देखाएको तदारुकतालाई स्वागत गरेको छ । बैठकले उद्धार, राहतको काममा लाग्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरी उद्धार र राहतमा परिचालित हुने निर्णय गरेको छ । रसुवा बाढीपछि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले बुधबार तय गरिएको ‘ग्रिन टेबल’ र बिहीबार आयोजना गरिएको ‘महिला उद्यमी सम्मेलन’ स्थगित गरेको छ । केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं प्रभावित भूगोलका सदस्यहरू अन्य कार्यक्रममा सहभागी नरहेर बाढीबाट उत्पन्न संकटमा उद्धार–राहत र पुनर्स्थापना कार्यमा सम्पूर्ण रूपले केन्द्रित रहने निर्णय बैठकले गरेको प्रवक्ता देवराज चालिसेले बताए । कांग्रेसको तर्फबाट एकमुस्ट रूपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा सभापति गगन थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा गएको ठुलो बाढीका कारण सिर्जना भएको गम्भीर र चिन्ताजनक स्थितिमा उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।
कांग्रेसको संस्थापन इतर पक्षले विपतमा राज्यका सम्पूर्ण शक्ति प्रयोग गरी उद्धार, खोजी र घाइतेको उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सम्पर्क कार्यालय चुनदेवीमा बुधबार बसेको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको आकस्मिक बैठकले उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएको छ । विपत् प्रभावित नागरिकहरूको खोजी र उद्धारमा स्वयंसेवक कार्यका लागि क्रियाशील रहन कोइरालाले पार्टीका सबै तहका पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्था र सामाजिक अभियन्तालाई अपिलसमेत गरेका छन् ।
एमालेले रसुवामा आएको बाढीमा बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार गर्न, खतरामा परेका मानिसलाई स्थानान्तरण र पुनर्स्थापना गर्न सरकारसँग माग गरेको छ । रसुवा बाढीपछि बुधबार बसेको सचिवालयको आकस्मिक बैठकले खोजी, उद्धार र राहत कार्य तत्काल गरी थप हताहती हुन नदिन सरकारसँग माग गरेको छ । सचिवालय बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष केपी ओलीले विपत् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्पहरू अविलम्ब परिचालन गर्न र तत्कालीन र दीर्घकालीन राहतको प्याकेज घोषणा गर्न माग गरेका छन् । एमालेले पार्टीका नेता, कार्यकर्ता, जनसंगठनलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहत कार्यमा सक्रिय रूपमा जुट्न निर्देशन दिएको छ ।
नेकपाले बाढीबाट बेपत्ता व्यक्तिहरूको जीवनरक्षा गर्न सम्पूर्ण जनशक्ति, संयन्त्र र साधनस्रोत परिचालन गरी तीव्रताका साथ उनीहरूको खोजी तथा उद्धार गर्न तीनै तहका सरकार, सुरक्षा निकायहरू, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघ–संस्था, नागरिक समाज र आमजनसमुदायलाई अपिल गरेको छ । नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको आकस्मिक बैठकले उद्धार गरिएका व्यक्तिहरूका लागि आधारभूत राहतको व्यवस्था गर्न, विस्थापितहरूलाई अस्थायी बसोबास तथा पुनर्स्थापना र मृतकका परिवारलाई आर्थिक सहायताका लागि तीनै तहका सरकार एवं अन्य सम्बन्धित पक्षसँग अनुरोध गरेको छ । पूर्वतयारी र दीर्घकालीन रूपमा समस्या समाधानका लागि छिमेकी राष्ट्र चीनसँग कूटनीतिक पहल नेकपाले सरकारको ध्यानाकर्षण गराएको छ ।