- भोटेकोशीमा बिजुलीझैँ आएको बाढीले रसुवा र नुवाकोटका बजार र बस्तीहरू छिनभरमै बगायो
- रसुवागढी नाकाका लगभग सबै संरचना ध्वस्त, टिमुरे र स्याफ्रुबेँसी बस्ती नै बगायो बाढीले नुवाकोटमा मात्रै आठ सय घर बगे, तीन सय बेपत्ता भएको अनुमान
भोटेकोशी/त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटमा ठुलो जनधनको क्षति गरेको छ । चीनतर्फबाट एक्कासि आएको बाढीले रसुवाका दुई र नुवाकोटका आधा दर्जनभन्दा धेरै बस्ती नै बगाएको छ भने विद्युत्, भन्सारलगायतका संरचना ध्वस्त बनाएको छ । यो प्राकृतिक महाविपत्तिमा १५७ जनाको मृत्यु पुष्टि भइसकेको छ भने एक हजारभन्दा धेरै सम्पर्कविहीन भएको आकलन छ ।
प्रहरीका अनुसार बुधबार मध्यरातिसम्म भोटेकोशी, त्रिशूली र नारायणी नदीको किनारमा शव भेटिने क्रम जारी थियो । जुन जिल्लामा शव भेटिएको हो, त्यसैअनुसार प्रहरीले तथ्यांक तयार गरेको छ । प्रहरीका अनुसार रसुवामा तीन, नुवाकोटमा १३, धादिङमा २७, गोरखामा १९, तनहुँमा नौ, चितवनमा ६४ र नवलपरासी पूर्वमा २२ शव भेटिएका छन् ।
बाढीले रसुवागढी नाकाका लगभग सबै संरचना ध्वस्त बनाउनुका साथै टिमुरे र स्याफ्रुबेँसी बस्ती बगाएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, नुवाकोटको बेत्रावतीमा ठुलो क्षति पुर्याएको छ भने त्रिशूलीबजार, देवघाट तथा बट्टार क्षेत्रसम्म क्षति भएको छ । बाढीले धादिङमा पनि ठुलो भौतिक क्षति पुर्याएको छ ।
सरकारी निकायहरूले स्थानीयबाहेक सात सयभन्दा धेरै सम्पर्कविहीन भएको तथ्यांक सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कार्यालयले साँझ ७ बजे जारी गरेको सूचनामा प्रहरीतर्फ ८५, जलविद्युत्का कर्मचारी १९६, भन्सार र अध्यागमन कार्यालयका कर्मचारी १९ र स्वदेशी तथा विदेशी पर्यटक गरी ४८४ जना सम्पर्कविहीन छन् । अधिकांश पर्यटक विभिन्न एजेन्सीमार्फत मानसरोवर पदयात्रामा गएकाहरू रहेको पर्यटन बोर्डले जनाएको छ । व्यक्तिगत रूपमा गोसाईँकुण्ड तथा रसुवा/नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि ठुलो संख्यामा सम्पर्कविहीन छन् । त्यस्तै, स्थानीय बासिन्दा, गाडीका चालक–सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि ठुलो संख्यामा सम्पर्कमा छैनन् । जसकारणमा एक हजारभन्दा धेरै सम्पर्कविहीन भएको सुरक्षा निकायको आकलन छ । कतिपय सर्वसाधारणहरूलाई भाग्दाभाग्दै बाढीले बगाएको सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियोमा देखिन्छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले ठुलो क्षति भएको, तर तत्काल आकलन गर्न नसकिने बताउँछन् । सरकारले खोज तथा उद्धारमा सुरुदेखि नै सक्रियता देखाए पनि प्रभावकारी भने हुन सकेको छैन । नेपाली सेनाको नेतृत्वमा १२१ जनाको उद्धार भएको जनाइएको छ । जसमध्ये ९४ जनाको हेलिकोप्टरमार्फत तथा २७ जनाको स्थलमार्गबाट उद्धार भएको हो । उद्धारका लागि सेनाका सात तथा निजी क्षेत्रका आठ हेलिकोप्टर परिचालन गरिएको छ । नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा भागेर बाँचेका कतिपयको उद्धार हुन सकेको छैन । साँझ परेपछि हेलिकोप्टरमार्फत हुने उद्धार रोकिएकोमा बिहीबार बिहानैदेखि फेरि सुरु हुँदै छ । स्थलबाट भने रातभर उद्धार भएको छ ।
नुवाकोटमा आठ सय घर बगे, तीन सय बेपत्ता भएको अनुमान
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठुलो जनधनको क्षति पुर्याएको छ । बाढीले ढुंगे, त्रिशूली र बेत्रावती बजारका सयौँ घर बगाएको छ भने जिल्लामा करिब तीन सयजना बेपत्ता भएको अनुमान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले बताए । बाढीले घर तथा बस्तीमा पुर्याएको क्षतिका स्थानबाट नुवाकोटमा ११ जनाको शव फेला परेको छ ।
बेपत्ताको यकिन तथ्यांक संकलन गर्नसमेत समस्या भइरहेको अधिकारीहरूले बताएका छन् । ‘सञ्चार तथा विद्युत् सेवा अवरुद्ध रहेकाले उद्धार तथा सुरक्षाका काममा कठिनाइ भएको छ । प्रारम्भिक तथ्यांक भएकाले बेपत्ताको संख्या बदलिन सक्ने अनुमान छ,’ उनले भने, ‘उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीसँगसमेत कतिपय ठाउँमा सम्पर्क हुन सकेको छैन । नेटवर्कका कारण सम्पर्कविहीन भएको हुन सक्छ । खोज तथा उद्धारको काम भने जारी छ ।’
बाढीमा परी घाइते भएका ३९ जनाको उद्धार तथा उपचार भइरहेको छ । थप ६३ जनालाई उद्धार गरिएको छ । केही व्यक्तिलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंका अनुसार नुवाकोटले यो बाढीबाट इतिहासकै ठुलो क्षति व्यहोरेको छ । बाढीबाट विदुर नगरपालिकाका वडा नम्बर १, ४, ५, ६, ९ र १०, बेलकोटगढी नगरपालिकाका वडा नम्बर ५, ७ र ८ तथा तारकेश्वर गाउँपालिकाका वडा नम्बर २ र ४ प्रभावित भएका छन् ।
बाढीले जिल्लाका आठवटा सरकारी कार्यालय पूर्ण रूपमा बगरमा परिणत गरेको छ । एउटा विद्यालय भवन बगाएको छ । एक सरकारी र तीन निजी विद्यालयमा आंशिक क्षति पुगेको छ । तर, विद्यालयमा अध्ययनरत बालबालिका भने सकुशल छन् ।
बाढीले ११ वटा पक्की पुल र नौवटा झोलुंगे पुलमा क्षति पुर्याएको छ । त्यस्तै, करिब सातदेखि आठ सय निजी घरमा क्षति पुगेको अनुमान गरिएको छ । विद्युत् संरचना र टनेलमा समेत क्षति पुगेको छ । बाढीले केन्द्रीय कारागार खम्बा क्याम्पमा समेत क्षति पुर्याएको छ भने पुरानो कारागारको संरचना बगाएको छ ।
धादिङबेँसी राजमार्गसँग सम्पर्कविच्छेद, १० घर बगायो
भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले फुर्केखोला पुल बगाएपछि सदरमुकाम धादिङबेँसी पृथ्वी राजमार्ग तथा मुख्य सहरसँग सम्पर्कविच्छेद भएको छ । बाढीले फुर्केखोला पुलसहित घाटबेँसी, जहरे, जिन्टेटार र गल्छी गाउँपालिका र नुवाकोट जोड्ने पुल गरी पाँचवटा पक्की पुल र चारवटा झोलुंगे पुल बगाएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बताइन् ।
बाढीले धादिङको बैरेनी बजार, महेश दोभान, गलौदी, बिहानी पेट्रोल पम्प डुबानमा परेका छन् । दुईवटा मन्दिर बगाएको छ भने गल्छीमा रहेको निर्वाचन अधिकृतको कार्यालय पनि बाढीले बगाएको उनले बताइन् । बाढीले भौतिक संरचनामा क्षति पुर्याए पनि उच्च सतर्कताका कारण मानवीय क्षति भने हुन नपाएको गौतमले बताइन् ।
धादिङ खण्डमा पाँच ठाउँमा लेदो जमेकाले पृथ्वी राजमार्ग ठप्प छ । बैरेनी, आदामघाट, जहरे, जवाङ खोलामा रहेको लेदो पन्छाउने काम भइरहेको छ । बाढीले धादिङको गल्छी गाउँपालिकाका ३५ घरधुरी प्रभावित बनेको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले बताए । ‘१० वटा घर बगाएर बस्नै नमिल्ने अवस्थामा छन् । बाँकी लेदो सोहोरेर बस्न सकिने अवस्था हुन सक्छ,’ उनले भने, ‘अधिकांश प्रभावित आफन्तहरूकोमा बसेका छन् । नजिकै आफन्त नभएका केहीलाई विद्यालयको भवनमा राखिएको छ ।
उद्धारकार्यमा सुरक्षाकर्मी : रसुवादेखि नवलपरासी पूर्वसम्म भेटिँदै छन् शव
बाढीमा फसेका र सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा सरकारले सुरुदेखि नै सक्रियता देखाए पनि भौगोलिक विकटता, साधन–स्रोतको अभावलगायतले प्रभावकारी भने हुन सकेको छैन । सेना र दुवै प्रहरी उद्धारमा खटिएका छन् । यसका लागि सेनाका सात तथा निजी क्षेत्रका आठ हेलिकोप्टर परिचालन गरिएको छ । नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा भागेर बाँचेका कतिपयको अझै उद्धार हुन सकेको छैन । साँझ परेपछि हेलिकोप्टरमार्फत हुने उद्धार रोकिएकोमा बिहीबार बिहानैदेखि फेरि सुरु हुँदै छ । स्थलबाट भने रातभर उद्धारकार्य जारी छ । घाइतेहरूको उपचारका लागि बिहीबारदेखि रसुवाको धुञ्चे र नुवाकोटको विदुरमा सेनाले क्याम्प नै खडा गर्ने तयारी छ ।
चीन हुँदै भोटेकोशीमा आएको बाढीले बगाएर ज्यान गुमाउनेहरूको शव नवलपरासी पूर्वसम्म फेला परिरहेका छन् । नेपाल प्रहरीको बुधबार मध्यरातिसम्मको तथ्यांकअनुसार रसुवामा तीन, नुवाकोटमा १३, धादिङमा २७, गोरखामा १९, तनहुँमा नौ चितवनमा ६४ र नवलपरासी पूर्वमा २२ शव भेटिएका छन् । सनाखत भने कसैको पनि हुन सकेको छैन ।
प्रधानमन्त्री शाह बिहानैदेखि सक्रिय, विपत्मा एकढिक्का हुन अपिल
प्रधानमन्त्री बालेन्द्र शाह रसुवामा बाढी आएपछि बिहानैदेखि वस्तुस्थिति बुझ्ने, उद्धार र राहतका लागि समन्वय गर्ने, संयन्त्र परिचालनमा खटिएका छन् । उनले पीडाको यो घडीमा सरकार र सम्पूर्ण देशवासी साथमा रहेको बताएका छन् । यो दुःखद खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको संख्यामा उद्धार कार्यमा परिचालन गरेको उनले उल्लेख गरेका छन् । उनले यस्तो विपत्को वेला सबै एकढिक्का हुनुपर्ने अपिल गरेका छन् । ‘म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आमनागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
रास्वपा सभापति रवि लामिछाले बोलाए सर्वदलीय बैठक
भोटेकोशी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका विषयमा साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बस्दै छ । यसअघि पूर्वीतराईमा साम्प्रदायिक तनाव हुँदा पनि रविले सर्वदलीय बैठक बोलाएर राजनीतिक दलहरूबिच समन्वयकारी भूमिका खेलेका थिए ।
४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
बाढीमा सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्रका १३ कर्मचारी पनि सम्पर्कविहीन छन् । रसुवा र नुवाकोटमा कार्यरत ४४ सैनिक सम्पर्कमा नरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए । त्यस्तै, नेपाल प्रहरीको इप्रका टिमुरेमा कार्यरत १०, रसुवागढीका आठ, मेलुङका पाँच, स्याफ्रुबेँसीका तीन र हाकुका एकजना सम्पर्कविहीन रहेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, सशस्त्रको टिमुरे बिओपीका नौ र मेलुङका चारजना सम्पर्कविहीन छन् ।
४८४ पर्यटक बेपत्ता
पर्यटन बोर्डका अनुसार बाढीमा ४८४ पर्यटक पनि सम्पर्कविहीन भएका छन् । अधिकांश विदेशी पर्यटक छन् । भारत, अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, मलेसिया, युक्रेन, सिंगापुरका, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, जापान, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, आयरल्यान्ड, पोर्चुगल, रुस, स्पेन, बेलारुस, फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, फिलिपिन्सलगायत देशका नागरिक सम्पर्कविहीन छन् ।
सडक पूर्वाधारमा २० अर्ब क्षतिको प्रारम्भिक आकलन, ३२ पक्की पुल बगे
बाढीले रसुवादेखि धादिङसम्मका सडक पूर्वाधारमा ठुलो क्षति पुर्याएको छ । रसुवागढीदेखि गल्छीसम्मको सडक ध्वस्त भएको छ । रसुवाको मितेरी पुलदेखि धादिङको मलेखुसम्मका दर्जनौँ सानाठुला पुल भत्काएको छ । कम्तीमा ३२ त पक्की पुल नै बाढीले बगाएको छ । सडक पूर्वाधारमा करिब २० अर्ब क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
४३१ मेगावाटका १२ विद्युत् आयोजनामा क्षति, १९६ कर्मचारी बेपत्ता
नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन, ६० मेगावाटको माथिल्लो त्रिशूली– ३ ए, ४२.५ मेगावाटको सान्जेन, २४ मेगावाटको त्रिशूली, २२ मेगावाटको चिलिमेलगायत ४३१ मेगावाटका १२ विद्युत् आयोजना क्षतिग्रस्त भएका छन् । त्यस्तै, निर्माणाधीन ४७० मेगावाटका १५ आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ । प्राधिकरणसहित विभिन्न आयोजनाका १९६ कर्मचारी सम्पर्कविहीन छन् ।
नौ बैंकका शाखा कार्यालय बाढीले बगायो, २४ कर्मचारी सम्पर्कविहीन
बाढीले स्याफ्रुबेँसी, नौमुरे र टिमुरेमा रहेका विभिन्न नौवटा बैंकका शाखा कार्यालय बगाएको छ । त्यहाँ कार्यरत २४ कर्मचारी सम्पर्कविहीन बनेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले बताए । त्यस्तै, रसुवागढीस्थित अध्यागमन कार्यालयका प्रमुख यादव भण्डारीसहित चार कर्मचारी पनि सम्पर्कविहीन भएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।
उद्धार र पुनर्निर्माणमा सहयोग गर्न भारत, चीन र विश्व बैंकको प्रतिबद्धता
बाढीले नेपालमा ठुलो जनधनको क्षति भएपछि भारत, चीन, विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय समुदायले राहत तथा पुनर्स्थापनालगायतमा सहयोगको प्रतिबद्धता जनाएका छन् । भारतले पठाएको १० टन सहयोग सामग्री तथा अत्यावश्यक औषधि बुधबार राति नै काठमाडौं आइपुगेको छ ।
प्रमुख दलहरूले नेता–कार्यकर्तालाई खटाए राहत तथा उद्धारमा
प्रमुख दलहरूले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर नेता–कार्यकर्तालाई विपत्तिमा परेकाहरूको उद्धार र राहतमा खटाएका छन् । सत्तारूढ रास्वपाको बुधबार बसेको बैठकले दैवीप्रकोप उद्धार कोषमा ५० लाख आर्थिक सहयोग गर्ने निर्णय गर्दै पार्टीपंक्तिलाई उद्धार र राहतको काममा लाग्न निर्देशन दिएको छ । कांग्रेसले पनि सबै कार्यक्रम स्थगित गरेर उद्धार र राहतमा केन्द्रित हुने जनाएको छ । एमालेले उद्धारमा तदारुकता देखाउन र राहत प्याकेज घोषणा गर्न माग गरेको छ । नेकपाले केन्द्रीय खोज, उद्धार, राहत समन्वय समिति नै बनाएको छ ।