नेपाल–चीन सीमा क्षेत्र नजिकै भीषण हिम चट्टान पहिरोका कारण भाेटेकाेशीकाे सहायक ल्हेन्दे खोलामा गेग्र्यानसहितको बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ।
स्याटेलाइट तस्बिर विश्लेषण गर्ने कम्पनी प्लानेट ल्याब्सका तस्बिरहरूको तुलनात्मक अध्ययनअनुसार रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको सीमा क्षेत्रबाट ठुलो पहिरो खसेको देखिएको हो। पहिरोपछि ल्हेन्दे खोलामा गेग्र्यानसहितको बाढी आएको र त्यसले टिमुरे क्षेत्र हुँदै त्रिशूली नदीमा उच्च बहाव उत्पन्न गराएको प्रारम्भिक विश्लेषण छ।
प्लानेट ल्याब्सका भदौ ९ र भदौ १० गतेका स्याटेलाइट तस्बिर तुलना गर्दा घटनास्थल आसपासको भूबनावटमा छोटो अवधिमै ठुलो परिवर्तन आएको देखिएको छ। यसले सीमा क्षेत्रमा भएको हिम चट्टान पहिरो र त्यसपछिको गेग्र्यान बहावलाई घटनाको सम्भावित कारणका रूपमा देखाएको राष्ट्रिय विपत् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ।
घटनाको उत्पत्ति नेपाल–चीन सीमा क्षेत्रतर्फ रहेको र पहिरोबाट बगेको गेग्र्यान ल्हेन्दे खोलाको जलप्रवाहसँग मिसिँदा तल्लो तटीय क्षेत्रमा बाढीको प्रभाव बढेको देखिन्छ।
यस घटनाबाट ल्हेन्दे खोला, टिमुरे क्षेत्र तथा त्रिशूली नदीको तल्लो तटीय क्षेत्र प्रभावित भएको प्रारम्भिक अध्ययनले देखाएको छ। विशेष गरी पहिरोको स्रोत र त्यसबाट बगेको गेग्र्यानको मात्रा ठुलो भएकाले नदीको बहावमा अचानक वृद्धि भएको हुन सक्ने देखिएको छ।
स्याटेलाइट तस्बिरले घटनाको सम्भावित उत्पत्ति र बाढीको बहावबारे महत्त्वपूर्ण संकेत दिए पनि पहिरोको वास्तविक परिमाण, क्षतिको अवस्था र थप जोखिमबारे स्थलगत अध्ययन गरिने प्राधिकरणले सूचनामा उल्लेख गरेकाे छ।