रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा एनसेलले तीन दिनका लागि भ्वाइस र डेटा सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।
कम्पनीका अनुसार प्रभावित क्षेत्रका सर्वसाधारणले तीन दिनसम्म निःशुल्क भ्वाइस तथा डेटा सेवा प्रयोग गर्न सक्नेछन्। साथै, सोही अवधिका लागि १०० वटा एसएमएससमेत निःशुल्क उपलब्ध गराइनेछ।
सञ्चार सेवा निरन्तर राख्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै गरिएको यो व्यवस्थाले बाढी प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धार टोलीसँग सम्पर्कमा रहन सहज हुने अपेक्षा गरिएको छ।
एनसेलले विपतका समयमा यसअघि पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ। आपतकालीन खोज तथा उद्धार एवं राहत वितरणका कार्यमा सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै कम्पनीले प्रभावित क्षेत्रमा सञ्चार सेवा सहज बनाउन यो निर्णय गरिएको बताएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहतका गतिविधि भइरहेका वेला सञ्चार सम्पर्कलाई निरन्तरता दिन निःशुल्क सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ।