संयुक्त अरब इमिरेट्स (युएई)को वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा आगामी ७ असोज अर्थात २३ सेप्टेम्बरदेखि दैनिक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। कम्पनीले सुरुमा एक महिना पोखरा–दुबई, दुबई–पोखरा उडान भर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट गत जेठ अन्तिम साता अनुमति पाएको थियो।
उडान सुरु गर्ने मिति नजिकिएसँगै उडानलाई नियमित र दिगो रुपमा लैजान पोखराका पर्यटनसहित अन्य व्यवसायी र नेपालका लागि युएईका राजदुतबीच छलफल भएको छ। पोखराबाट गएको व्यवसायीहरुको टोली नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का केन्द्रीय अध्यक्ष भरतजंग पाण्डेलाई साथमा लिएर राजदूतसँग दुतावासमा छलफल गरेका हुन्।
भेटका क्रममा राजदुत अब्दुल्लाह बिन साइद मुबारक जरवान अल साम्सीले हवाईमार्गबाट पोखरा–दुबई सिधा उडानबारे आफू उत्साहित रहेको बताए। हवाई मार्गबाट दुई देश सिधा जोडिँदा सम्भावनाका धेरै ढोकाहरु खुल्ने बताउँदै उनले यसको दिगोपनका लागि दुबै देशका व्यवसायीको भुमिका महत्वपुर्ण रहने बताए। उडानलाई नियमित बनाउन यूएईका व्यवसायीसँग आफूले समन्वय र सक्दो सहयोग गर्ने उनले आश्वासन दिए।
व्यवसायीको टोलीमा रहेका पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडानलाई नियमित र दिगो बनाउन सके आर्थिक रुपमा पोखरा र गण्डकी प्रदेश मात्र नभएर नेपालकै लागि फाइदा हुने बताए। होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले सिधा अन्तर्राष्ट्रिय उडानले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग प्रत्यक्ष जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
‘प्रहरी चारित्रिक प्रमाणपत्र’ हटाउन आग्रह
भेटका क्रममा व्यवसायीहरुले रोजगारीका लागि दुबई जाने कामदारहरुका लागि लागू गरिएको ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ प्रकृया हटाउन, सम्भव नभए पर्यटक भिसामा दुबई जाने नेपालीहरुलाई अनिवार्य नगर्ने व्यवस्था मिलाउन आग्रह गरे। अनिवार्य रहेको यो व्यवस्था हटाउन सके नेपालबाट दुबई जाने पर्यटकहरुलाई सहज हुने र त्यसको फाईदा उडानलाई हुने पोखरेली टोलीको तर्क थियो। टोलीको आग्रहपछि राजदूतले यसलाई हटाउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताए।
एक महिनाका लागि उडान अनुमति, ६ महिनालाई टिकट बुकिङ खुला
फ्लाई दुबईले आउँदो ७ असोजदेखि ७ कात्र्तिकसम्म अर्थात २३ सेप्टेम्बरदेखि २४ अक्टोबरसम्म दैनिक उडान भर्ने गरी अनुमति पाएको हो। उडान अनुमतिसँगै क्यानले दुबई–पोखरा, पोखरा–दुबईको उडान तालिकासमेत दिएको छ। १५६ सिटे एयर बसमार्फत करिव पाँच घण्टाको उडानपछि दुबई–पोखरा, पोखरा–दुबर्ई पुग्न सकिने छ।
क्यानले एक महिनाका लागि अनुमति दिएपनि यात्रा गर्ने यात्रुको कारण ६ महिना अर्थात अंग्रेजी महिना मार्चसम्म टिकट बुकिङ खुल्ला भएको पोमनारायण श्रेष्ठले बताए।