कर्जा हिनामिनामा पक्राउ परेका रिसोर्ट सञ्चालक र प्रभु बैंकका कर्मचारीलाई धरौटीमा छाड्ने आदेश

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा पक्राउ परेका ६ जनालाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।  प्रभु बैंकका चार कर्मचारी तथा एसियन भिलेज रिसोर्ट प्रालिका दुई सञ्चालकलाई मंगलबार उच्च अदालत, पाटनमा  धरौटीमा छाड्न भनेको हो। 

रिसोर्टका सञ्चालक शशिधर शर्मासँग दुई करोड तथा उनका भाइ शिशिर पौडेलसँग एक करोड धरौटी माग भएको हो । रिसोर्ट स्थापनाका लागि भनेर उनीहरूले प्रभु बैंकबाट ४८ करोड रुपैयाँ लिएकोमा सो पैसा कम्पनीमा खर्च नगरी परिवारका विभिन्न व्यक्तिको खातामा रकमान्तर गरेर दुरुपयोग भएको थियो ।  

यसमा प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त, कमलादी शाखाका प्रबन्धक नन्दराज जोशी, मणिग्राम शाखाका प्रबन्धक सन्तोष ज्ञवाली र जुनियर अफिसर राजेन्द्र श्रेष्ठविरुद्ध मुद्दा दायर भएको हो । उनीहरूमध्ये पूर्वसिइओ शेरचनबाहेक अन्यलाई पक्राउ गरेर मुद्दा दायर गरिएको छ । शेरचनविरुद्ध भने यसअघि नै तीन मुद्दा दायर भइसकेका छन् । 

पक्राउ परेकी रश्मीसँग ५० लाख, नन्दराज जोशीसँग १५ लाख, सन्तोष ज्ञवालीसँग १५ लाख, राजेन्द्र श्रेष्ठसँग १५ लाख धरौटी माग भएको छ । उच्चका न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र स्वीकृत पराजुलीको इजलासले धरौटी माग गरेको हो । 

ऋण प्रवाह गर्दा कम्पनीका नाममा रहेका जग्गाहरू दृष्टिबन्धकसमेत नगरी कबुलियतनाम कागजलाई आधार बनाइएको थियो । धितो सुरक्षणको व्यवस्थासमेत नगरी कर्जा दिइएकाले राष्ट्र बैंकले सो कर्जालाई शतप्रतिशत खराब कर्जामा वर्गीकरण गरेको थियो । यस विषयमा राष्ट्र बैंकबाट प्राप्त भएको स्थलगत निरीक्षण प्रतिवेदनलाई आधार बनाएर आफूहरूले अनुसन्धान गरी मुद्दा दायर गरेको सिआइबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबरा बताउँछन् । 
 

सुझावित समाचार